हिउँद लागेपछि सुनसान हुन्छ बुकीपाटन |



बागलुङ । वर्खाको समयमा आन्तरिक पर्यटक र गोठालाको चहलपहलले भरिभराउ रहने बुकीपाटन अहिले चिसो बढेसँगै सुनसान बनेको छ। कात्तिकको पहिलो सातादेखि यहाँको गतिविधि ठप्प जस्तै भएको छ।

असारदेखि असोजसम्म सयौँ गोठाला र हजारौँ वस्तुभाउसहित पर्यटकले रमाइलो गर्ने बुकीपाटन अहिले खाली मैदानमा रूपान्तरण भएको हो। अग्ला पहाडका हरिया घाँस सुक्दै जाँदा वरिपरि क्षेत्र उजाड देखिन थालेका छन्।

करिब ४ हजार ५०० मिटर उचाइमा रहेको बुकीपाटन पछिल्ला वर्षमा लोकप्रिय पदयात्रा गन्तव्य बन्दै आएको छ। ढोरपाटनका होटल व्यवसायी सन्देश थापाका अनुसार वर्खामा बेसीमा गर्मी बढ्दा शीतलता खोज्दै धेरै पर्यटक बुकीपाटन पुग्ने गर्छन्। तर अहिले चिसो अत्यधिक भएकाले त्यहाँ पुग्ने संख्या अत्यन्त घटेको छ। “असोजसम्म त धेरै पर्यटक आउँथे, अहिले फाट्टफुट्ट मात्र आइपुग्छन्,” थापाले भने।

गोठालाले असोजमै वस्तुभाउसहित बेसी झरेपछि बुकीपाटन सुनसान भएको हो। नेपालकै एक मात्र शिकार आरक्षमा पर्ने यस क्षेत्रलाई बागलुङ, रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका पशुपालक किसानले वर्खामा चरनका रूपमा प्रयोग गर्दै आएका छन्। ढोरपाटन नगरपालिका–८ का गोठाला तुलबहादुर सुनार भन्छन्, “असोज दोस्रो साता गोठ झार्दा नै बुकीपाटन सुनसान भइसकेको थियो। अहिले त पानी जम्छ, अत्यधिक चिसो हुन्छ, कोही पुग्न सक्दैन।”

उनका अनुसार जेठ–असारमा मात्रै गोठाला फेरि बुकीपाटन उक्लिन्छन् र त्यतिबेलासम्म त्यो क्षेत्र सुनसान रहन्छ।

चिसो बढेसँगै ढोरपाटन उपत्यकामा पनि पर्यटकको आवागमन घटेको छ। स्थानीय पवन घर्तीमगरका अनुसार अब हिउँ परेपछि हिउँखेल्न आउने आन्तरिक पर्यटक मात्र केही बढ्ने अपेक्षा गरिएको छ।

पहिले अधिकांश ढोरपाटनबासी वर्खामा ढोरपाटन र हिउँदमा बेसी बस्ने गर्थे। तर अहिले सडक सञ्जाल विस्तार र विकासका कारण स्थायी रूपमा ढोरपाटनमै बस्नेको संख्या बढ्दै गएको घर्तीमगरले बताए।

प्रतिक्रिया दिनुहोस्