
काठमाडौँ । असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालको सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ ।
चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्स अफिस सिनेमा’ का अनुसार, यो चलचित्रले गत शनिबारसम्म रु ११ करोड ७१ लाख ४१ हजार ४९८ ग्रस कलेक्सन गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, ‘जेरी अन टप’ ले यस वर्ष प्रदर्शनमा आएका सबै चलचित्रलाई कमाइको हिसाबले पछि पारेको हो ।
चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकबाट पाएको माया र साथका लागि आभार व्यक्त गर्दै भने, “चलचित्र अझै प्रदर्शनरत छ, त्यसैले यसको कमाइ अझ बढ्ने निश्चित छ । वितरकको तथ्याङ्क अनुसार हाम्रो कमाइ बोर्डको विवरणभन्दा अझ बढी छ । सगरमाथाको पृष्ठभूमिमा बनेको यस चलचित्रलाई देशभित्र र विदेशमा दर्शकले दिएको साथ निकै उत्साहजनक छ ।”
यसअघि वैशाखमा प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले रु ११ करोड ४१ लाख ८८ हजार ७८० कमाइ गरेर वर्षको सर्वाधिक कमाउने चलचित्र बनेको थियो । तर ‘जेरी अन टप’ ले त्यसलाई उछिन्दै शीर्ष स्थान हात पारेको हो ।
सुयोग गुरुङद्वारा निर्देशित चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे (माग्ने बुढा) र उषा खड्गी लगायत कलाकारहरूको अभिनय रहेको छ ।





