
काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपाली चलचित्रप्रतिको दर्शकको आकर्षण उल्लेख्य रूपमा बढेको देखिन्छ। विशेषगरी यस वर्षको तिहारमा प्रदर्शनमा आएका नेपाली चलचित्रले घरेलु बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै नयाँ उचाइ हासिल गरेका छन्।
अघिल्ला वर्षहरूमा तिहारको समयमा विदेशी चलचित्रको दबदबा रहने गरेकोमा यसपटक भने नेपाली चलचित्रले नै बजारमा वर्चस्व जमाएका छन्। नेपाली कला, संस्कृति र सामाजिक कथावस्तुमा आधारित चलचित्रहरूले दर्शकको मन जित्दै राम्रो आम्दानी गरेका छन्।
चलचित्र विकास बोर्डअन्तर्गतको ‘बक्सअफिस २ सिनेपाः’ ले सार्वजनिक गरेको ताजा तथ्याङ्कअनुसार दर्शक संख्या र आम्दानी दुवै हिसाबले नेपाली चलचित्रको स्थिति बलियो बनेको छ।
सबैभन्दा बढी कमाई गर्न सफल चलचित्र बनेको छ— ‘जेरी अन टप’। सगरमाथाको पृष्ठभूमिमा बनेको यस चलचित्रले कात्तिक २२ गतेसम्म तीन लाख ७५ हजार ८१ दर्शक जुटाउँदै रु ११ करोड ७१ लाख ४१ हजार ४९८ को ग्रस कलेक्सन गरेको छ। सगरमाथा आरोहण र प्रेमकथाको संयोजनमा बनेको यस चलचित्रले नेपालकै सुन्दर दृश्यलाई पर्दामा उतारेको छ। निर्माता सरोज न्यौपानेका अनुसार चलचित्रले केवल मनोरञ्जन होइन, नेपालको पर्यटन प्रचारमा पनि योगदान पुर्याउनेछ।
“हामीले सगरमाथाको कथा चलचित्रमार्फत प्रस्तुत गरेका छौं। दर्शकको साथले प्रमाणित गर्यो— नयाँ विषय र गुणस्तरीय प्रस्तुति भए नेपाली दर्शकले अवश्य रुचाउँछन्,” न्यौपानेले बताए।
सुयोग गुरुङ निर्देशित यस चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ र उषा खड्गी प्रमुख भूमिकामा छन्।
त्यसैगरी, भाइटीकाका दिनदेखि प्रदर्शनमा आएको ‘वरिष्ठ बलराम’ ले पनि उल्लेखनीय व्यापार गरेको छ। सुरेन्द्र पौडेल निर्देशित यस चलचित्रले ८५ हजार ३५६ दर्शकबाट रु २ करोड ५६ लाख ५७ हजार ९२९ कमाएको छ। यसमा दयाहाङ राई, विजय बराल र सम्वृद्धि अर्यालको अभिनय रहेको छ।
तर, सोही समयमा रिलिज भएको ‘सोल्टिनी’ भने अपेक्षित सफलता हासिल गर्न सकेन। अर्जुन सुवेदी निर्देशित यस चलचित्रले आठ हजार ९४५ दर्शकबाट रु २९ लाख पाँच हजार ९५६ मात्रै कमायो। प्रकाश सपूत र परीक्षा लिम्बूको अभिनय रहेको यो चलचित्र सुवेदीको अघिल्लो असफल फिल्म ‘रङ्गेली’ पछि अर्को कमजोर व्यापारिक परिणाम बन्यो।
‘मैझारो’ पनि असफल चलचित्रको सूचीमा पर्छ। विल्सनविक्रम राईको पहिलो निर्देशकीय प्रयास यो फिल्मले रु १ करोड चार लाख २९ हजार २८८ मात्र कमाई गर्न सक्यो, ३५ हजार १७६ दर्शक पुगेका थिए।
यता, कात्तिक १४ देखि प्रदर्शनमा आएको ‘परान’ भने दर्शकको मन जित्न सफल भएको छ। दीपकप्रसाद आचार्य निर्देशित यस चलचित्रमा बुबाछोराको कथालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, पूजा चन्द र अञ्जना बराइलीको अभिनय रहेको यस चलचित्रले रु ३ करोड ७१ लाख ३६ हजार ५५३ कमाउँदै उत्कृष्ट व्यापार गरेको छ।
निर्देशक आचार्यका अनुसार चलचित्रको सुरुवाती व्यापार सामान्य भए पनि सकारात्मक प्रतिक्रिया पाउँदा दर्शक संख्या तीव्र रूपमा बढेको हो।
“दर्शक आफैंले सिफारिस गरेर हेर्न थालेका छन्। धेरैले यो कथा आफ्नै परिवारसँग मेल खाने बताएका छन्,” उनले भने।
त्यस्तै, कात्तिक २१ देखि प्रदर्शनमा आएका ‘जारी २ः सङ अफ च्याब्रुङ’ र ‘मन विनाको धन’ लाई पनि प्रारम्भिक रूपमा दर्शकको राम्रो प्रतिक्रिया मिलिरहेको छ, यद्यपि तिनको आधिकारिक व्यापारिक विवरण अझ सार्वजनिक भएको छैन।
चलचित्र वितरक करण श्रेष्ठका अनुसार यसपटक चाडपर्वको अवसरमा नेपाली चलचित्रले दर्शकको मन जित्दै विदेशी फिल्मलाई पछारिदिएको स्पष्ट देखिन्छ।
“गएको शनिबार सबै चलचित्र भवनमा दर्शकको भीड थियो। अब चाडपर्वमा विदेशी होइन, स्वदेशी चलचित्र नै मुख्य आकर्षण बन्न थालेका छन्,” श्रेष्ठले भने।
गत वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेपछि दर्शकको भरोसा पुनः बढेको उल्लेख गर्दै उनले भने, “दर्शकले माया गर्न थालेपछि अब निर्माताले पनि गुणस्तरीय सामग्रीमा ध्यान दिनु जरुरी छ।”
बक्सअफिसका तथ्याङ्कले पनि देखाउँछ— दसैँ, तिहार, शिवरात्रि र नयाँ वर्षजस्ता पर्वमा नेपाली चलचित्रको व्यापार लगातार उकालो लाग्दैछ।
देशभित्रको यो सकारात्मक लहरले नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।





