
काठमाडौं । चर्चित अभिनेता कामेश्वर चौरासिया करिअरको सत्र वर्षपछि पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका छन् । पर्साबाट कलाकार बन्ने सपना बोकेर राजधानी आएका उनले ‘रेशम फिलिली’ (२०७२) मार्फत ‘हरिया’ पात्रको रूपमा दर्शकमाझ पहिचान बनाएका थिए । यही अभिनेता अब आगामी मंसिर १८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘अभिमन्युः च्याप्टर–१’ मा मुख्य भूमिकामा देखिने भएका छन् ।
“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ,” चौरासियाले भने, “मधेसको कथा बोलेको चलचित्र भएकाले म यसमा अटाउनु स्वाभाविक हो । यो मेरो लामो सङ्घर्षको फल हो, पात्रलाई जीवन्त बनाउन म पूर्ण रूपमा समर्पित छु ।”
बाल्यकालदेखि कलाकारिताको सपना देख्दै आएका चौरासियाको अभिनय यात्रा सहज भने रहेन । पढाइलाई दोस्रो प्राथमिकतामा राख्दै अभिनयको खोजीमा काठमाडौं आएका उनले बेरोजगारी र भोकमरीको कठोर अनुभव सहे । विदेश जाने दबाबका बीच उनले आफ्ना शैक्षिक प्रमाणपत्र नष्ट गरेर नेपालमै रहन निर्णय गरे, जसका कारण परिवारसँगको सम्बन्ध पनि टाढियो ।
अभिनय सिक्ने उद्देश्यले उनी भारतको दिल्लीसम्म पुगे, तर त्यहाँ सफलता नपाएपछि नेपाल फर्किएर ‘एक्टर्स स्टुडियो’ बाट अभिनय तालिम लिए र रङ्गमञ्चमार्फत यात्रा सुरु गरे । ‘रेशम फिलिली’ मा सफलता पाए पनि मुख्य भूमिकाको साटो सहायक भूमिकाका प्रस्ताव मात्र आउँदै गए ।
“म फरक भूमिकामा आफूलाई स्थापित गर्न चाहन्थें, त्यसैले केही प्रस्ताव अस्वीकार गरेँ । त्यसपछि चलचित्रका प्रस्तावहरू आउन नै छाडे,” उनले सम्झिए ।
पछिल्लो समय उनले अभिनयबाट केही समय टाढा रहँदै माछा बेच्ने काम समेत गरे, तर कोभिड महामारीका कारण त्यो पनि टिकेन । त्यसपछि ‘फेरि रेशम फिलिली’ मार्फत पुनः अभिनयमा फर्किएका उनले अन्ततः निर्माता विनोद पौडेलको प्रस्तावमा ‘अभिमन्युः च्याप्टर–१’ मा मुख्य भूमिका पाए ।
“जीवनभर जसका लागि संघर्ष गरेँ, त्यो अवसर अहिले हात परेको छ । यो मेरो जीवनको सन्तुष्टिको क्षण हो,” उनले भावुक हुँदै बताए ।
मधेसको पृष्ठभूमिमा आधारित यस चलचित्रमा उनले परिवारप्रति जिम्मेवार र सुरक्षात्मक चरित्र निर्वाह गरेका छन् । चलचित्रमा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल र सुष्मा निरौला लगायतले अभिनय गरेका छन् ।
चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने कथा मुकेश खनालको हो । छायांकन शरद महतो र सम्पादन मदन घिमिरेले गरेका छन् ।





