
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ चुरे पहाडमा अवस्थित ‘बर्फानी बाबा’ मन्दिर पछिल्ला वर्षमा महत्वपूर्ण धार्मिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । नेपालगन्ज बजारबाट करिब ३० किलोमिटर पूर्वदक्षिणमा पर्ने यस मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल तीव्र रूपमा बढिरहेको छ ।
नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलका अनुसार मन्दिरसम्म पुग्ने बाटो रमणीय छ, जहाँ पदयात्राका क्रममा प्राकृतिक दृश्यावलोकनको विशेष अनुभव प्राप्त गर्न सकिन्छ । उनका अनुसार राप्तीसोनारी गाउँपालिकाको कुम्भर गाउँबाट करिब दुई घण्टाको पैदल यात्रा गरी मन्दिरमा पुग्न सकिन्छ, र यस क्षेत्रको पर्यटन विकासका लागि थप लगानी आवश्यक छ ।
गाउँपालिकाका पूर्वअध्यक्ष लाहुराम चौधरीले ‘बर्फानी बाबा’ मन्दिर धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण गन्तव्य भएकाले पूर्वाधार विकासमा अझै सुधार आवश्यक रहेको बताए । उनका अनुसार आफ्नो कार्यकालमा झण्डै छ वर्षअघि रु ३० लाख लागतमा मन्दिर निर्माण गरिएको थियो भने बाटो निर्माणमा रु २८ लाख खर्च गरिएको थियो ।
अघिसम्म खानेपानी र भक्तजनका लागि बस्ने व्यवस्थाको अभाव रहेको उक्त क्षेत्रमा अहिले यी दुबै सुविधाको व्यवस्था भइसकेको छ । तर, शौचालय र आवतजावतका सहज पूर्वाधार अझै अपूरा छन् । चौधरीका अनुसार यात्रा गर्ने भक्तजनले अहिले पनि केही कठिनाइ भोग्नुपर्छ ।
मन्दिरका प्रमुख बाबा केशव गिरीले हरेक वर्ष आगलागीका कारण कुटीमा समस्या पर्ने गरेको बताउँदै मन्दिर क्षेत्र चारैतर्फ पर्खाल निर्माणको आवश्यकता रहेको बताए ।
भारतीय पत्रकार एसके मदेशियाले मन्दिर परिसरको प्राकृतिक सौन्दर्यले आफूलाई अत्यन्त आकर्षित गरेको उल्लेख गर्दै यात्रुहरूका लागि सहज पहुँचको व्यवस्था हुनुपर्ने सुझाव दिए । त्यस्तै, स्थानीय पत्रकार विमला चौधरीले पछिल्ला वर्षहरूमा ‘बर्फानी बाबा’ मन्दिरको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको बताइन् ।
गुल्मेली सेवा समाज बाँकेका हरिलाल न्यौपानेका अनुसार, मन्दिरसम्मको पदयात्रा स्वयंमा आनन्ददायी अनुभव हो । करिब रु ७० लाख लागतमा केही वर्षअघि खानेपानीको व्यवस्थापन गरिएको उक्त क्षेत्रमा प्रदेश सरकारले समेत हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ ।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पदयात्राको आकर्षण एकैसाथ पाइने ‘बर्फानी बाबा’ मन्दिर बाँकेको नयाँ पर्यटकीय केन्द्रका रूपमा उदीयमान देखिएको छ ।





