‘कास्की आइडल’को पहिलो अडिसन सम्पन्न, गायन र नृत्यमा नयाँ प्रतिभा उदायो



पोखरा, कात्तिक २३ गते । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजना गरिएको गायन र नृत्य प्रतियोगिता ‘कास्की आइडल’को पहिलो अडिसन शनिबार पोखरा–२७, तालचोकमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोह–अवरोहलाई प्रतिबिम्बित गर्ने भन्दै यस्ता प्रतियोगिताले सिर्जनशीलता र आत्मविश्वास बढाउने बताए। उनले आफ्नो विद्यार्थी जीवनमा कविता र चित्रकला प्रतियोगितामा भाग लिँदाको अनुभव सुनाउँदै नवप्रतिभालाई प्रोत्साहित गर्ने यस्ता अवसरहरू अत्यावश्यक रहेको उल्लेख गरे।

कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले नेपाली साहित्य र संगीतमा पोखराको योगदानलाई स्मरण गर्दै आइडलजस्ता प्रतियोगिताबाट पहिचान भएका प्रतिभाहरूले यस क्षेत्रको प्रतिष्ठा अझ उँचो बनाउने विश्वास व्यक्त गरे।
गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले दुई संस्थाले मिलेर गायन र नृत्यका उदयीमान प्रतिभा खोजीका लागि ‘कास्की आइडल’ आयोजना गरेको जानकारी दिए।

गायक झलक गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रूपरेखा प्रस्तुत गरेका थिए भने रूपा वाङ्मय प्रतिष्ठानका सचिव मदन घिमिरेले शुभकामना दिएका थिए। सो अवसरमा अनिल ढुंगानाले साङ्गीतिक प्रस्तुति दिएका थिए। उद्घाटन कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए।

अडिसनबाट गायनतर्फ २० जना र नृत्यतर्फ १५ जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट भएका छन्। प्रतियोगिताको अन्तिम चरणमा टप ५ प्रतिस्पर्धी छनोट गरिने आयोजक प्रतिष्ठानका अध्यक्ष पोखरेलले जानकारी दिए।

प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा र कृष्णमाया तिवारी, नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे रहेका छन्।

प्रतिक्रिया दिनुहोस्