पर्यटनबाट समृद्धिको बाटोमा लोपोन्मुख आठपहरिया समुदाय



धनकुटा । धनकुटा बजारबाट करिब पाँच किलोमिटर माथि स्याउले सिप्तिङ गाउँमा पुगिन्छ । धनकुटा नगरपालिका–३ मा पर्ने यो सुन्दर गाउँ आठपहरिया समुदायको बसोबासका कारण परिचित छ । संख्यामा सानो भए पनि सांस्कृतिक धरोहरमा समृद्ध यो समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टे अहिले स्थानीय पर्यटनको नयाँ गन्तव्यका रूपमा उदाउँदैछ ।

अरुण र तमोर नदीको बीचस्थित धनकुटालाई आफ्नो उत्पत्तिस्थल मान्ने सीमान्तकृत आदिवासी जनजाति आठपहरिया अहिले पर्यटनमार्फत आर्थिक तथा सांस्कृतिक समृद्धिको खोजीमा छ ।

सिप्तिङ पुग्ने पाहुनाहरू यहाँ पाहुना होइन, परिवारका सदस्यझैँ स्वागत पाइन्छ । हरियालीले ढाकिएका डाँडाकाँडा, स्वच्छ हावा र सुनौलो घामले गाउँको सौन्दर्य झनै मोहक बनाउँछ ।

सन् २०७८ को जनगणनाअनुसार नेपालमा आठपहरिया समुदायको जनसंख्या पाँच हजार ८७८ रहेको छ । यस समुदायलाई पर्यटनतर्फ प्रेरित गर्ने काम अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) र कम्युनिटी होमस्टे नेटवर्कले गरेका हुन् । साथै नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) र धनकुटा नगरपालिकाको सहकार्यमा सञ्चालित दिगो पर्यटनमार्फत जीविकोपार्जन पुनरुत्थान परियोजना (STLRP) ले पनि यहाँको संस्कृति प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ ।

यहाँको आतिथ्य सत्कार औपचारिक होइन, आत्मीय छ । पाहुनाको स्वागत आमा–दिदीबहिनीहरूले रातो टीका, फूलको माला र मीठो मुस्कानका साथ गर्छन् । स्थानीय मौरीको मह मिसाइएको पानी स्वागतको प्रतीकका रूपमा अनिवार्य रूपमा दिइन्छ ।

होमस्टेमा पाहुनालाई गाउँको इतिहास, संस्कार र संस्कृति परिचय गराइन्छ । उनीहरूलाई सुन्तला बगैँचा, मह उत्पादन, बीउ संरक्षणजस्ता गतिविधिमा सहभागी गराइन्छ । यहाँको अनुभव बासभन्दा बढी, जीवनशैलीको अध्ययन र सांस्कृतिक साक्षात्कार हो ।

गत वर्ष ७२ जना (२४ विदेशी सहित) पर्यटक आएको होमस्टेमा यस वर्ष हालसम्म ८२ जना पाहुना आइसकेको अध्यक्ष हिराबहादुर राई बताउँछन् । एकपटकमा १७ जनासम्मलाई बास दिन सक्ने व्यवस्था यहाँ छ । प्रत्येक साँझ स्थानीय नृत्य–संगीतमार्फत मनोरञ्जनसँगै संस्कृतिको संरक्षणमा जोड दिइन्छ ।

स्याउले सिप्तिङ होमस्टे नजिकैको अर्को आकर्षण साततले झरना र गुफा हुन् । सामुदायिक होमस्टेबाट १५ मिनेटको सवारी र करिब डेढ घण्टाको पैदल यात्रामा झरना पुगिन्छ । पहुँच सुधारका लागि परियोजनाले पदमार्ग निर्माणसमेत गरेको छ ।

लोपोन्मुख जातिमा सूचीकृत आठपहरिया समुदायको आफ्नै भाषा, गीत, नृत्य र परम्परा छन् । तर आधुनिकतासँगै ती हराउने चिन्ता स्थानीयको छ । अध्यक्ष राई भन्छन्, “नयाँ पुस्ता आधुनिक जीवनशैलीतिर आकर्षित हुँदा संस्कृति बिर्सिने खतरा छ । त्यसैले हामीले प्रत्येक साँझ सांस्कृतिक कार्यक्रममार्फत परम्परा सिखाइरहेका छौँ ।”

उनका अनुसार, यहाँको होमस्टे केवल व्यवसाय होइन, संस्कृतिलाई जीवित राख्ने माध्यम हो । पाहुनाले प्रकृति मात्र होइन, समुदायको जीवन–शैली र श्रमसँग मिसिएको आत्मीयता पनि अनुभव गर्छन् ।

स्थानीय युवा पर्यटन व्यवस्थापन, पाहुना सेवा र गाइडिङमा दक्ष हुँदै गइरहेका छन् । यद्यपि, अझ सहज पहुँचका लागि सडक विस्तार आवश्यक रहेको समुदायको माग छ ।

दिगो पर्यटन परियोजनाका अधिकृत खगेन्द्र खड्काको भनाइमा, “स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नेपालमा सांस्कृतिक पर्यटनको नयाँ उदाहरण स्थापित गरेको छ । यहाँको साँझमा जब ढोल बज्छ र आठपहरियाहरू परम्परागत नृत्यमा रमाउँछन्, त्यतिबेला संस्कृति, प्रकृति र आत्मीयता एकैसाथ अनुभव गर्न सकिन्छ ।”

उनका अनुसार, यो पहलले ग्रामीण अर्थतन्त्र सशक्त बनाउने मात्र होइन, लोपोन्मुख संस्कृति जगेर्नाको पनि महत्वपूर्ण माध्यम बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्