‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङको एकल सांगीतिक कार्यक्रम सम्पन्न



काठमाडौँ, कात्तिक २१ गते ।
वरिष्ठ गायक कमल बि.के. ‘निर्मोही’ लाई ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ द्वारा सम्मानित गरिएको छ । नेपाली गीत–संगीत क्षेत्रमा उहाँले पु¥याएको दीर्घसाधना र उल्लेखनीय योगदानको कदरस्वरूप नगद रु. ५१ हजार, दोसल्ला र सम्मानपत्र सहित सम्मान प्रदान गरिएको हो ।

गायक निर्मोही पछिल्ला वर्षहरूमा मृगौला रोगबाट पीडित रहँदै पनि निरन्तर सांगीतिक सिर्जनामा सक्रिय रहनुभएको छ । उहाँका ‘बुलबुल तालैमा’, ‘आऊँ त भने’, ‘मैले भन्थें नि’, ‘सलल बग्ने’, ‘ताने झैँ माया’, ‘अरू मैले’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’ जस्ता लोकप्रिय गीतहरू आज पनि श्रोतामाझ उतिकै प्रिय छन् । साथै, उहाँ एक कुशल रेडियोकर्मी समेत हुनुहुन्छ ।

राजधानी काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. प्रमुख अतिथीका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सांगीतिक क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पुरस्कारका संरक्षक गायक तथा संगीतकार कन्हैया सिंह परियारले पुरस्कारको उद्देश्य नेपाली संगीतमा योगदान पु¥याएका अग्रज कलाकारहरूलाई जीवनकालमै सम्मान गर्ने रहेको बताउनुभयो । उहाँका अनुसार, “यो सम्मानले कलाकारको मनमा खुसी, जीवनमा उत्साह र सर्जनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।”

कार्यक्रम संयोजक किर्तिमान संगीतकार सन्तोष श्रेष्ठले कार्यक्रममा पुरस्कारको उद्देश्य, उपादेयता र यसको प्रभावकारिताको विषयमा प्रकाश पार्नुभएको थियो ।

त्यस्तै, प्रमुख अतिथि दिनेश डि.सी.ले ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ मार्फत् कलाकारहरूलाई नगदसहित सम्मान प्रदान गर्नु प्रशंसनीय कार्य रहेको बताउँदै यस्ता कार्यक्रमहरूले कलाकारमा नयाँ उत्साह र सर्जनशील ऊर्जा थप्ने बताए । उहाँले यस्ता सम्मान कार्यक्रमहरू निरन्तर आयोजना हुनु आवश्यक रहेको उल्लेख गर्दै प्रवासमै रहेर नेपाली संगीतको विकासमा योगदान दिँदै आएका कन्हैया सिंह परियार र अञ्जना गुरुङलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

एरा प्रोडक्सनको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन चर्चित रेडियोकर्मी हेम सुवेदीले गर्नुभएको थियो । कार्यक्रमको सदस्य सचिव निर्देशक माधव खरेल रहनुभएको थियो भने सभापतित्व टिका गोपाल एम. क्रियशनकी अध्यक्ष गीता सिंहले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्