याङ्जाकोटमा सुरु भयो ‘डल्लेले इन्ट्री मार्याे’को सुटिङ



काठमाडौं, १२ कार्तिक ।

हाँस्यप्रधान सामाजिक कथानकमा आधारित चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ को सुटिङ कास्कीको याङ्जाकोटमा सुरु भएको छ । निर्देशक राजु गिरीका अनुसार तिहारअघि काठमाडौंको गागलफेदी आसपासमा केही दृश्य खिचिएको र बाँकी करिब ९० प्रतिशत दृश्य याङ्जाकोटमा सुटिङ गरिने योजना रहेको छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको यस चलचित्रमा चर्चित हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) ले शीर्ष भूमिकामा अभिनय गरेका छन् । साथै चलचित्रमा रमेश बुढाथोकी, रोशनी खड्का, हेमन्त बुढाथोकी, रबिन्द्र झा, बिनोद न्यौपाने, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, ओसिन भट्टराई, लक्ष्मीनाथ तिमिल्सिना, मोहन कृष्ण श्रेष्ठ, रामहरि खड्का, सुचेन्द्र परियार र निर्देशक गिरी स्वयंले पनि अभिनय गरेका छन् ।

चलचित्रको छायांकन श्याम लामाले गरेका छन् भने मुख्य सहायक निर्देशक बिनयराज पौडेलनिर्माण व्यवस्थापक सुमन काफ्ले रहेका छन् । चलचित्रमा अशोक रोक्काको श्रृंगार, देव महर्जनको द्धन्द्व निर्देशन र अर्जुन पोखरेलको गीत समावेश छन् ।

उषा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्रको सुटिङ करिब एक महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । निर्देशक गिरीका अनुसार ‘डल्लेले इन्ट्री मार्याे’ चलचित्र २०७८ को अन्त्यतिर दर्शकमाझ प्रदर्शन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्