
गण्डकी । देशभर मुख्य पर्यटकीय याम चलिरहेका बेला अहिले मौसम अचानक प्रतिकूल बन्दै गएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात भएपछि विशेषगरी गण्डकी प्रदेशका मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र गोरखालगायत जिल्लामा पर्यटन गतिविधि प्रभावित बनेका छन् ।
सुरक्षित स्थानमा रहेका केही पर्यटकले हिमपातको रमाइलो लिइरहेका छन् भने पदयात्रामा निस्किएका पर्यटकहरूलाई भने गन्तव्यसम्म पुग्न कठिनाइ भएको छ । कतिपय क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासीले हिउँ पन्छाउँदै पर्यटकलाई सुरक्षित स्थानमा पुर्याइरहेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा पर्यटकको सहजीकरणका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
अन्नपूर्ण पदमार्गमा रहेका पर्यटन पथप्रदर्शक दिवस गुरुङका अनुसार नौ जना अमेरिकी नागरिकसहितको समूह वर्षा र हिमपातका कारण कठिनाइमा परिरहेको छ । लमजुङको बेँसीसहर हुँदै मनाङतर्फ जाँदै गरेको टोली बुधबार चामे पुग्ने योजनामा छ । “मनाङतर्फ भारी वर्षा र हिमपात भइरहेको छ, त्यसैले मौसम हेरेर मात्र अघि बढ्ने योजना छ,” गुरुङले बताए । उनका अनुसार मनाङ हुँदै थोरङ भन्ज्याङ पार गरेर मुस्ताङ र म्याग्दी हुँदै पोखरा फर्किने योजना रहेकाले यात्रा केही लम्बिन सक्छ ।
आम पर्यटकहरूका अनुसार खुला आकाश र स्वच्छ दृश्य बिना पदयात्रा खल्लो हुन्छ । अहिले भने आकाश धुम्म छ, झरी परिरहेको छ र हिमाल तथा डाँडाकाँडा बादलले ढाकिएका छन् । यस कारण कतिपयले तय गरेको पदयात्रा स्थगित गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाका अनुसार प्रतिकूल मौसमले पर्यटन क्षेत्र प्रभावित बनाएको छ । “तिहारपछि मुस्ताङ र मनाङमा पर्यटकको भीड बढेको थियो, तर मौसम बिग्रिएपछि गतिविधि सुस्त बनेका छन्,” उनले भने, “तर पर्यटकहरू सुरक्षित रूपमा होटलमै रहेका छन्, कुनै विपद्सम्बन्धी सूचना प्राप्त भएको छैन ।”
डा. कडरियाले कात्तिकलाई पदयात्राका लागि उत्कृष्ट महिना मानेपनि अस्थिर मौसमका कारण गतिविधि घटेको बताए । “मौसम खुल्नासाथ पुनः चहलपहल बढ्नेछ,” उनले विश्वास व्यक्त गरे ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरताको साथै जैविक विविधता र सांस्कृतिक सम्पदाका कारण पर्यटकको रोजाइमा पर्छ । यो क्षेत्रमा कास्की, लमजुङ, म्याग्दी र मुस्ताङबाट छोटोदेखि लामो दूरीका पदमार्गहरू छन्, साथै सडकमार्गबाट पनि विभिन्न गन्तव्य पुग्न सकिन्छ ।
सोमबारदेखि म्याग्दी र मुस्ताङमा हल्का वर्षा र हिमपात सुरु भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मनाङको चामेमा ६४.४ मिलिमिटर र मुस्ताङको जोमसोममा ५१.२ मिलिमिटर वर्षा मापन भएको छ ।
विभागले आगामी दिनहरूमा अझै जोखिम बढ्न सक्ने चेतावनी दिएको छ । त्यसैले मुस्ताङ, म्याग्दी र कास्कीका प्रशासन कार्यालयहरूले यात्रुहरूलाई जोखिमयुक्त पदमार्गमा नगइ सुरक्षित रहन आग्रह गरेका छन् । कास्की प्रशासनले जारी गरेको सूचनामा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमैडाँडा, कोरीलगायत क्षेत्रमा मौसम खुल्दासम्म पदयात्रा नगर्न अनुरोध गरिएको छ ।
त्यस्तै, यात्रुहरूलाई मौसमसम्बन्धी विभागीय सूचना पालना गर्न, गन्तव्यबारे पर्याप्त जानकारी लिन, समूहमा मात्र यात्रा गर्न, अग्रिम आवास बुकिङ गर्न र आवश्यक न्यानो कपडा तथा औषधि साथमा लिन सुझाव दिइएको छ । साथै, तातोपानी, जीवनजल र झोलिलो खानेकुरा सेवन गर्न र धुम्रपान–मद्यपान नगर्न आग्रह गरिएको छ ।





