
बुधबार, १२ कात्तिक २०८२
मुस्ताङ । कात्तिकको सुरुदेखि १० दिनभित्र मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटक पुगेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ गतेदेखि १० गतेसम्म बेनी–जोमसोम सडक मार्ग हुँदै ३७ हजार १४६ आन्तरिक र ३ हजार ७३२ विदेशी गरी कुल ४० हजार ८७८ पर्यटक मुस्ताङ पुगेका हुन् ।
उक्त अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिइन् ।
कात्तिक १० गते मात्रै म्याग्दी हुँदै मुस्ताङ पुगेका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण प्रभावित भएको छ । सोमबार रातिदेखि परेको वर्षा र बाक्लो हिमपातका कारण मुक्तिनाथ क्षेत्रका पर्यटक र तीर्थालुहरू असहज परिस्थितिमा परेका छन् ।
कागबेनी–मुक्तिनाथ सडकखण्ड र मुक्तिनाथ बसपार्कदेखि मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिउँ जमेकाले आवागमन कठिन बनेको मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए ।
उनका अनुसार हिमपातपछि चिसो अत्यधिक बढेको छ । स्नानकुण्ड र १०८ धारामा बरफ जमेकाले भक्तजनलाई धार्मिक स्नान र पूजाआजामा कठिनाइ भएको छ ।
यस वर्ष साउनदेखि कात्तिक १० गतेसम्म बेनी–जोमसोम सडक मार्ग हुँदै एक लाख ५९ हजार ४६७ जना पर्यटक मुस्ताङ पुगेका प्रहरी कार्यालयले जनाएको छ ।





