
मङ्गलबार, ११ कात्तिक २०८२
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष पनि ‘सिजन’मा पर्यटक नआएपछि यहाँका होमस्टे सञ्चालक निराश भएका छन् ।
भीमदत्त नगरपालिका–१४ नयाँ गाउँका पर्शुराम राना निकुञ्जमा पर्यटकलाई जङ्गल सफारी गराउने काम गर्छन् । उनी रानाथारू होमस्टेका सञ्चालक पनि हुन् । उनका अनुसार, दुई वर्षअघि सम्म दसैँ–तिहारको समयमा होमस्टेमा भीड लाग्ने गर्थ्यो तर अहिले सिजनमै खाली छ ।
“दुई वर्षअघि दसैँ–तिहारताका होमस्टे भरिन्थे, अहिले त रित्तै छन्,” रानाले भने, “पर्यटक आउने समयमा नै जङ्गल सफारी नखुल्दा यहाँको व्यवसाय ठप्प छ ।”
निकुञ्ज प्रशासनले हरेक वर्ष असार १ देखि असोज १ गतेसम्म बर्सातका कारण सफारी बन्द गर्ने गर्छ । विगतमा असोज १ पछि सफारी खुल्ने भए पनि पछिल्ला दुई वर्ष लगातार ढिलो भएको रानाको भनाइ छ ।
“दसैँ–तिहारको समयमा मात्रै एक लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो,” उनले भने, “अहिले फाटफुट भारतीय पर्यटक मात्रै आएका छन् ।”
शुक्लाफाँटा भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक रानाथारू होमस्टेमा बास बस्ने गर्छन् । तर, निकुञ्ज ढिलो खुलेपछि यस वर्ष पर्यटक नआएको होमस्टे सञ्चालक केशमती रानाले बताइन् ।
“विगतमा जस्तो अग्रिम बुकिङ्ग हुने होमस्टेमा अहिले एक–दुई जना मात्र पाहुना छन्,” उनले भनिन्, “निकुञ्ज ढिलो खुलेपछि संघसंस्था र समूहगत भ्रमण पनि भएन ।”
सिजनमै पर्यटक नआएपछि होमस्टे सञ्चालकको आम्दानी घटेको छ । निकुञ्ज नजिकका रानाथारू बस्तीमा सञ्चालनमा आएका होमस्टेले विगतमा स्थानीयको आयवृद्धि र संस्कृतिको प्रचारप्रसारमा योगदान पुर्याउँदै आएका थिए ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, यस वर्ष वर्षाले बाटो र पुल बिग्रिएपछि जङ्गल सफारी ढिलो गरी खुलाइएको हो । “अहिले मर्मतपछि निकुञ्ज सफारी पुनः सञ्चालनमा आएको छ,” उनले बताए ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे, चराचुरुङ्गी र दुर्लभ वनस्पतिका लागि प्रसिद्ध मानिन्छ । निकुञ्जमा हाल दुई हजार ३२३ भन्दा बढी बाह्रसिङ्गे रहेको जनाइएको छ ।





