
पोखरा, कात्तिक ११ गते । यस वर्षको ‘गीतकार सम्मान–२०८२’ पोखराका आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरिने भएको छ ।
गीतकार प्रतिष्ठान नेपालले आफ्नो तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसरमा कात्तिक १५ गते शनिबार पोखरामा आयोजित समारोहमा गीतकार सल्यानीलाई रु ५ हजार ५५५, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’, सुरज उपाध्याय, अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई कार्यसमितिले अनुमोदन गरेको उपाध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।

सल्यान खलङ्गाका स्थायी निवासी विष्ट २०५८ सालदेखि पोखरामा बस्दै पत्रकारिता र साहित्य लेखनमा सक्रिय छन् । हाल उनी रेडियो अन्नपूर्णका समाचार प्रमुखका रूपमा कार्यरत छन् । उनले ‘सागर’ र ‘झ्याम्म झ्याम्म’ नामक दुई गीति एल्बम बजारमा ल्याइसकेका छन् । उनका चर्चित गीतहरूमा ‘जित मात्रै कहाँ हो र…’, ‘झ्याम्म झ्याम्म…’, ‘ठोकिँदा ठोकाइमा…’, ‘लौ आयो भलिबल’ र ‘आहा रारा गोल्डकपमा…’ लगायतका छन् । उनका करिब ३०० गीत रेकर्ड भइसकेका छन् ।
गीत लेखन र पत्रकारितामा योगदानका लागि विष्ट यसअघि गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, विन्दवासिनी राष्ट्रिय संगीत पत्रकारिता पुरस्कार, राप्ती राष्ट्रिय म्युजिक पुरस्कारलगायत सम्मान प्राप्त गरिसकेका छन् ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने यो सम्मान यसअघि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ ले प्राप्त गरिसकेका छन् ।





