गायक आनन्द कार्कीलाई भारतको शान्तिबनमा अन्तर्राष्ट्रिय सम्मान



काठमाडौँ, ५ कात्तिक ।
नेपाली संगीत जगतका वरिष्ठ गायक आनन्द कार्कीलाई भारतको शान्तिबनमा आयोजित ग्लोबल समिट २०२५ मा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको छ । चार दशकभन्दा बढी समयदेखि नेपाली तथा हिन्दी भाषामा गीत–गजल गाउँदै आएका कार्कीलाई संगीत क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको हो ।

समिटमा भारतका विभिन्न विशिष्ट व्यक्तित्वहरूसँगै नेपालबाट गायक कार्की सम्मानित भएका हुन् । शुभ दीपावलीको अवसर पारेर आयोजित उक्त कार्यक्रममा विभिन्न देशका स्रष्टा, कलाकार र चिन्तकहरूलाई समेत सम्मान गरिएको थियो । विश्वभरका प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा प्राप्त यस सम्मानले आफू अत्यन्त गौरवान्वित भएको अनुभूति भएको गायक कार्कीले बताए ।

कार्कीले नेपाल मात्र होइन, विश्वका विभिन्न देशमा आयोजना भएका सांगीतिक कार्यक्रममा प्रस्तुत गरी नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गर्दै आएका छन् । भारतमा समेत उनले थुप्रै कार्यक्रममा आफ्ना चर्चित गीत प्रस्तुत गरिसकेका छन् । यही योगदानको कदरस्वरूप ग्लोबल समिट आयोजक समितिले उनलाई सम्मानित गरेको हो ।

सम्मान ग्रहणपछि काठमाडौँ फर्किएका गायक कार्कीले खुशी व्यक्त गर्दै भने, “आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु । यो सम्मान मेरो मात्र होइन, सबै दर्शक–श्रोता र नेपाली संगीतप्रेमीहरूको माया र साथको परिणाम हो ।”

प्रतिक्रिया दिनुहोस्