
काठमाडौँ, कात्तिक २ –
तिहारको शुभ अवसरमा एस.बी. क्रियसन प्रा.लि.ले नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्थाबारे अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । शनिबार राजधानीमा सम्पन्न कार्यक्रममा ‘जेनजी आन्दोलनपछि चलचित्र, गीत–संगीत र मनोरञ्जन क्षेत्रको अवस्था’ विषयमा गहन छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल चलचित्र संघका उपाध्यक्ष एवम् वितरक गोपालकाजी कायस्थले जेनजी आन्दोलनले चलचित्र उद्योगमा गम्भीर असर पारेको बताए । उनका अनुसार, जेनजी आन्दोलनका क्रममा मुलुकका पाँचवटा सिनेमा हलमा गरिएको आगजनीका कारण २० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको र त्यसपछिबाट चलचित्र बजार सुस्त बनेको छ । उनले गत वर्षको दसैंको तुलनामा यस वर्ष चलचित्र व्यवसाय निकै कमजोर रहेको बताए ।
अग्रज कलाकार एवम् नाट्यकर्मी हरिहर शर्माले जेनजी पुस्तालाई चलचित्रमा समेट्नु अहिलेको आवश्यकता भएको बताए । उनले ६ दशकको यात्रामा नेपाली चलचित्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै अबका फिल्म समयअनुकूल बन्नुपर्नेमा जोड दिए । चलचित्रसँगै मोडलिङ, गीत–संगीत, फेशन र ब्युटीका क्षेत्रमा पनि परिवर्तन आवश्यक रहेको उनले बताए ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा वरिष्ठ अभिनेता कृष्ण मल्लले यो दसैंमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शन भए पनि अपेक्षित व्यापार हुन नसकेको बताए । उनका अनुसार, हाल पनि नेपाली बजारमा विदेशी चलचित्रको दबदबा कायम छ र यही दसैंमा भारतीय चलचित्रले राम्रो व्यापार गरेको छ । उनले मौलिक नेपाली चलचित्रको निर्माण र प्रवर्द्धनमा ध्यान दिन आग्रह गरे ।
नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले सहरका जेनजी पुस्तामा नेपाली चलचित्र हेर्ने बानी घट्दो अवस्थामा रहेको बताउँदै उनीहरू प्रायः हलिउड र कोरियन चलचित्रमा रमाउने गरेको बताए । उनले अभिभावकहरूलाई आफ्ना सन्तानलाई सिनेमा हलमा लिएर नेपाली चलचित्र हेर्ने बानी बसाल्न अनुरोध गरे । उनका अनुसार, जेनजी पुस्ताले राजनीति मात्र होइन, चलचित्र क्षेत्रमा पनि परिवर्तन चाहेको कुरा चलचित्रकर्मीहरूले बुझ्न आवश्यक छ ।
अग्रज ब्युटिसियन सोनी कारंजितले जेनजी आन्दोलनको प्रारम्भिक चरणमा सौन्दर्य क्षेत्रमा केही असर पारे पनि त्यसपछि व्यवसाय सामान्य बनेको बताइन् । उनले जेनजी पुस्ता सौन्दर्य र फेशनप्रति सचेत र आकर्षित रहेको भन्दै ब्युटिसियनहरूले यस पुस्तालाई अझ नजिक ल्याउने प्रयास गर्नुपर्ने सुझाव दिइन् ।
अन्तरक्रियापछि तिहारको शुभकामना आदान–प्रदान, सम्मान तथा सांगीतिक कार्यक्रम पनि सम्पन्न भयो । गायक ओम सुनारको प्रस्तुति र बाल कलाकार स्नेहा बुढाथोकीको नृत्यले कार्यक्रमलाई झन् रंगीन बनायो ।
कार्यक्रममा आफ्ना–आफ्ना क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । चलचित्र क्षेत्रबाट निर्माता–निर्देशक रोशनी केसी, छायाकार रामशरण उप्रेती, निर्देशक माधवराज खरेल, चलचित्र तथा फोटो पत्रकार बद्री थापा र गायक नरेश बीबीसी सम्मानित भए ।
त्यसैगरी, ढाका फेशन व्यवसायी सकुमाया लिम्बु, साहित्यकार शनि लिम्बु, ब्युटिसियन करुणा श्रेष्ठ, मैना श्रेष्ठ, सजना महर्जन, निर कमल प्रधान, अटोमोबाइल व्यवसायी मेघबहादुर बुढाथोकी (विदुर) र पस्मिना उद्यमी सुरेन्द्र गिरीलायतले पनि सम्मान प्राप्त गरे ।





