
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ–तातोपानी कुण्ड अहिले पदयात्रीका लागि ‘रिफ्रेस सेन्टर’का रूपमा विकसित भएको छ । बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने–आउने तथा अन्नपूर्ण चक्रीय पदमार्ग र अन्नपूर्ण आधार शिविरसँग जोडिएको यो स्थल पदयात्राको थकान मेटाउने प्रमुख थलो बनेको हो ।
अन्नपूर्ण हिमालको आधार शिविरको यात्रा सकेर फर्किएकी बुटवलकी स्मृति न्यौपानेले तातोपानीमा दुई घण्टा स्नान गरेपछि शरीरमा स्फूर्ति आएको अनुभव सुनाइन् । “यात्राको थकान तातोपानीमा नुहाएपछि हरायो,” उनले भनिन्, “शरीरमा नयाँ ऊर्जा आएको महसुस भयो ।”
तातोपानीमा स्नान गर्नेहरूका अनुसार यसले शरीरको थकान हटाउने, चोटपटकको पीडा कम गर्ने र मांसपेशीको कठोरता घटाउने प्रभाव पार्छ । चिसो हावापानीबाट आएका पर्यटकले तातोपानीमा नुहाउँदा न्यानोपन र स्फूर्ति अनुभव गर्ने गर्छन् ।
कालीगण्डकी नदी किनारमा प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियस तापक्रमको पानी सङ्कलन गरेर दुईवटा पोखरी र धारामा उपलब्ध गराइएको छ । बिहान ६ बजेदेखि साँझ १० बजेसम्म स्नान गर्न सकिने तातोपानी कुण्डमा हाल दैनिक ३०० देखि ५०० पर्यटक पुग्ने गरेको सञ्चालक जीतेन्द्र चोचाङ्गी पुनले बताए ।
उनका अनुसार, “बर्खा रोकिएपछि मुस्ताङ जाने–आउने यात्रु बढेका छन्, त्यससँगै तातोपानीमा नुहाउनेहरूको संख्या पनि उल्लेख्य रूपमा बढेको छ ।”
कुण्डमा प्रवेश शुल्क नेपालीका लागि ५० रुपैयाँ र विदेशीका लागि १५० रुपैयाँ तोकिएको छ । अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ का लागि होटल हटस्प्रिङसँग करबाहेक रु. ५० लाख १ हजारमा ठेक्का सम्झौता गरेको जनाएको छ ।
तातोपानी कुण्डबाट हुने आम्दानी गाउँपालिकाले स्थानीय विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीको प्रयोगशाला सञ्चालन, पूर्वाधार निर्माण तथा संरक्षण कार्यमा प्रयोग गर्दै आएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।
कालीगण्डकी नदीको कटान नियन्त्रणका साथै संरक्षणका काम पनि भइरहेको छ । भुरुङ–तातोपानी बजारमा हाल करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन्, जसमा करिब पाँच सय जना पर्यटक एकैपटक बस्न सक्ने व्यवस्था छ ।
होटल व्यवसायी अमृतमान शेरचनका अनुसार हालका दिनमा अधिकांश होटल भरिएका छन् । “यो सिजनमा आधाभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर जाने वा त्यहाँबाट फर्किएका यात्रु नै हुन्,” उनले भने ।
देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटक पनि भुरुङ–तातोपानीमा पुगेर स्नान गर्छन् र त्यहाँबाट जीप चढेर हुमखोला हुँदै अन्नपूर्ण आधार शिविरतर्फको पदयात्रा सुरु गर्ने गरेका छन् ।





