
बागलुङ । बागलुङका विभिन्न तालहरू धमाधम सुक्न थालेपछि तिनको संरक्षणमा चुनौती बढेको छ । ढोरपाटन नगरपालिका–९ को रुद्रताल, तमानखोला–२ को बराहताल, जैमिनी–३ को गाजा दह, काठेखोला–४ को खोरताल र बागलुङ नगरपालिका–१० को बराहतालमा पानी क्रमशः घट्दै गएपछि चिन्ता बढेको हो । स्थानीय तहहरूले संरक्षणका नाममा डोजर प्रयोग गरेपछि तालमा पानीको स्तर घट्दै गएको बताइन्छ ।
ढोरपाटन नगरपालिका–९ का धनबहादुर पुनका अनुसार सडक निर्माणपछि तालको प्राकृतिक संरचना प्रभावित भएको छ । “पहिले रुद्रताल ठूलो थियो, धार्मिक आस्थाको केन्द्र पनि थियो,” पुनले भने, “तर सात वर्षअघि नगरपालिकाले डोजर प्रयोग गरेर ताल सम्याउँदा करिब ९० प्रतिशत पानी हरायो, अहिले हिलोमात्र बाँकी छ ।”
जैमिनी–३ स्थित गाजा दहमा पनि डोजर प्रयोग गरेपछि करिब ४० प्रतिशत पानी घटेको स्थानीयको भनाइ छ । त्यस्तै, काठेखोला गाउँपालिका–४ को तङ्ग्रामस्थित खोरताल छ वर्षअघि सम्म पानीले भरिभराउ थियो, तर अहिले ताल रित्तिएको छ । स्थानीय गङ्गाबहादुर किसानले भने, “तालमा डोजर चलाएपछि र कङ्क्रिट पर्खाल बनाएपछि पानी रित्तियो, अब कमिला मात्र देखिन्छ ।”
तमानखोला गाउँपालिकाले रु ३० लाख लगानीमा बराहताल संरक्षण सुरु गरे पनि अहिले पानी झन् घटेको छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले पानीको मुहान नजिकै डोजर प्रयोग गर्दा स्रोत सुक्ने समस्या देखिएको बताए । “पहिले सुधारका लागि डोजर चलाइन्थ्यो, तर अहिले त्यस्ता ठाउँमा मेसिन प्रयोग गर्न छाडेका छौँ,” उनले स्पष्ट पारे ।
बागलुङ नगरपालिका–१० को भकुण्डे बराहतालमा पनि पानी घट्दै गएको छ, यद्यपि अन्य तालका तुलनामा अझै केही मात्रामा पानी रहेको पाइन्छ । बिदाको समयमा यहाँ आन्तरिक पर्यटकहरूको भीड लाग्ने गरेको छ ।
रुकुमपूर्व सिमानामा पर्ने रिगतालमा पनि निसीखोला गाउँपालिकाले डोजर चलाएपछि २० प्रतिशत पानी घटेको स्थानीयले बताएका छन् । मध्यपहाडी लोकमार्ग नजिक रहेको यो तालमा दैनिक पर्यटक पुग्ने गरे पनि पानी घटेसँगै संरक्षणको चुनौती थपिएको छ ।
विशेषज्ञहरूका अनुसार प्राकृतिक मुहान र भू–संरचना जोगाउने दीर्घकालीन रणनीति नअपनाए बागलुङका ऐतिहासिक र धार्मिक महत्वका यी तालहरू पूर्णरूपमा सुक्ने खतरा बढ्दै गएको छ ।





