
गण्डकी । दसैँपछि मौसम अनुकूल बन्दै जाँदा गण्डकी प्रदेशका पदमार्ग र पर्यटकीयस्थलमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । हिमालहरू खुलेसँगै अन्नपूर्ण, मर्दी, धवलागिरि, गुरुङ सम्पदा र सहस्राब्दी पदमार्गमा पदयात्रीको आगमन उल्लेख्य देखिएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सबै पदमार्ग सुरक्षित छन् र पर्यटक आगमन तीव्र गतिमा बढ्दैछ । अन्नपूर्ण क्षेत्रमा आधुनिक होटेल र पूर्वाधार विकास भएसँगै पदयात्रीलाई सहज सुविधा मिलेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
पोखराबाट छोटो दूरीमा पुगिने मर्दी हिमाल, धवलागिरि, गुरुङ सम्पदा र सहस्राब्दी पदमार्गमा पनि पर्यटक आकर्षित भइरहेका छन् । पर्यटन व्यवसायीहरूका अनुसार गण्डकी प्रदेशका सबै पदमार्ग पर्यटक स्वागतका लागि पूर्ण तयारीमा छन् ।





