राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘कैलाश कोरा’ लोकार्पण |



काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी तथा नियात्राकार राजेन्द्रमान डङ्गोलद्वारा लिखित नियात्रा कृति ‘कैलाश कोरा’ सार्वजनिक गरिएको छ । तिब्बतस्थित कैलाश मानसरोवर यात्राका व्यक्तिगत अनुभव र अनुभूतिलाई समेटिएको उक्त कृतिको लोकार्पण स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले आज सम्पन्न गरेका हुन् ।

एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले यात्रामा निस्कने धेरै भए पनि त्यसका अनुभूति र अवलोकनलाई साहित्यमा रूपान्तरण गर्ने सर्जक निकै कम रहेको बताए । उनले भने, “सरल भाषामा लेखिएको ‘कैलाश कोरा’ले कैलाश घुम्न नसक्नेहरूलाई पनि यात्राको अनुभव दिलाउनेछ।” साथै, उनले मुलुकमा नियात्रा लेखनको परम्परा अझै विस्तार गर्न आवश्यक रहेको टिप्पणी गरे ।

कृतिमाथि समीक्षा प्रस्तुत गर्दै साहित्यकार प्राडा बिन्दु शर्माले ‘कैलाश कोरा’ले साहित्य र पर्यटनबीचको सम्बन्धलाई सुदृढ पारेको बताइन् । उनले कृतिमा यात्राका क्रममा भेटिएका गुम्बा, स्थल र किंवदन्तीहरूको सजीव चित्रण पाइने उल्लेख गरिन् । समीक्षक राम लोहनीले लेखकले यात्राका प्रत्यक्ष अनुभूतिलाई आत्मीय ढङ्गमा प्रस्तुत गरेको बताउँदै, “कैलाश यात्राबाट प्राप्त आध्यात्मिक ऊर्जा लेखकले पुस्तकमार्फत पाठकमा बाँडेका छन्,” भने ।

कार्यक्रममा बोल्दै एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालकी सल्लाहकार ज्योति अधिकारीले नेपालमार्ग हुँदै वार्षिक झन्डै ३० हजार आन्तरिक र बाह्य पर्यटक कैलाश मानसरोवर जाने गरेको बताइन् । उनका अनुसार कैलाश यात्रा केवल पर्यटकीय याममा सीमित नभई वर्षभर सम्भव भएकाले यसले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउन सक्छ ।

त्यस्तै, **टान (ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल)**का अध्यक्ष सागर पाण्डेले पुस्तकले आम पाठकलाई आध्यात्मिक यात्राप्रति आकर्षित गर्ने प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्ट र **हान (होटल सङ्घ नेपाल)**का अध्यक्ष विनायक शाहलगायत वक्ताले कृतिलाई विभिन्न भाषामा अनुवाद गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सके नेपालको पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ हुने धारणा राखे ।

एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपालका अध्यक्ष विमल नहर्की र महासचिव प्रदीप पण्डितले ‘कैलाश कोरा’ व्यक्तिगत यात्रा अनुभूतिमा आधारित भए पनि सबैका लागि मार्गदर्शक र प्रेरणादायी कृति हुने विश्वास व्यक्त गरे ।

नेपालय पब्लिकेशनद्वारा प्रकाशित उक्त पुस्तक १५८ पृष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्