
काठमाडौँ । यस वर्षको दसैँलाई लक्षित गरी असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली चलचित्रले बक्स अफिसमा उल्लेखनीय व्यापार गरेका छन्। चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार असोज २३ गते मध्यरातसम्म ती तीनै चलचित्रले उत्साहजनक कारोबार गरेका हुन्।
निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको ‘बलिदान’ ले चार करोड ४२ लाख रुपैयाँको व्यापार गर्दै शीर्ष स्थान हासिल गरेको छ। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मालगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ।
त्यस्तै, दीपेन्द्रकुमार खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ ले तीन करोड ९० लाख रुपैयाँको व्यापार गर्दै दोस्रो स्थानमा परेको छ। अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको यस चलचित्रमा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की र किरण केसीलगायत कलाकारको पनि अभिनय रहेको छ।
फूलपातीकै अवसरमा प्रदर्शनमा आएको अर्को चलचित्र ‘माइतीघर’ ले पनि राम्रो व्यापार गरेको छ। रोहित अधिकारीको निर्माण र मिलन तामाङको निर्देशनमा बनेको यस चलचित्रले दुई करोड ८५ लाख रुपैयाँको कारोबार गरेको छ। चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धिरज मगर र प्रकाश सपुतको मुख्य भूमिका रहेको छ।





