
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ नामले मात्र चिनिन्थ्यो । खिवाङ गाउँका किसानहरूको चरन क्षेत्रको रूपमा रहेको यो डाँडा अहिले विश्व पर्यटन बजारमा पुनहिलको नामले प्रसिद्ध गन्तव्य बनिसकेको छ ।
तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिल आज प्रकृतिप्रेमीहरूको आकर्षण केन्द्र मात्र होइन, आर्थिक रूपमा पछाडि परेका स्थानीय बस्तीका लागि आयआर्जनको महत्वपूर्ण आधारसमेत बनेको छ ।
घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको विकासमा खिवाङका दिवङ्गत मेजर टेकबहादुर पुनको अग्रणी योगदान छ । उनका शब्दमा, “२०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त भएपछि मेजर पुनले लुङटुङमा पर्यटक भित्र्याउने पहल नगरेको भए यो क्षेत्र ओझेलमै रहने थियो । उहाँकै पहलले लुङटुङ ‘पुनहिल’को रूपमा परिचित भयो र गाउँको आर्थिक रूपान्तरणको बाटो खुल्यो ।”
पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने व्यापारी र मुक्तिनाथ तीर्थयात्रीहरूको विश्रामस्थल थियो । त्यतिबेला बटुवाहरूले गोठमा बस्दै चिया–खाजा खाएर विश्राम गर्ने गर्थे । अहिले त्यही स्थान दर्जनौँ हिमशृङ्खलाको दर्शन गर्न सकिने विश्वस्तरीय भ्यूपोइन्ट बनिसकेको छ ।
दिवङ्गत मेजर टेकबहादुरले देखेको सपना साकार भएपछि घोडेपानी र पुनहिलको पहिचान पूर्णतः बदलिएको पूर्वअध्यक्ष पुनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत परेपछि यसको अन्तर्राष्ट्रिय प्रचार–प्रसारले पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुगेको पनि उनले उल्लेख गरे ।
स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा २०३५ सालमा पुनहिलमा पहिलोपटक काठको भ्यूटावर बनाइएको थियो । पछि मेजर पुनका ज्वाइँ लेप्टेन राजु पुनको नेतृत्वमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिलेको आकर्षक पक्की टावर निर्माण गरिएको हो ।
घोडेपानीका पथप्रदर्शक रूपक रिमालका अनुसार पुनहिलबाट सूर्योदय, सूर्यास्त, गुर्जा, धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र निलगिरिसहित दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । “चैत–वैशाखमा ढकमक्क फुल्ने लालीगुराँस र पुस–माघको हिउँ पुनहिलको विशेष आकर्षण हो,” उनले भने, “शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ आउने पर्यटकको यात्रा अविस्मरणीय बनाउँछ ।”
असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना पुनहिल भ्रमणका लागि उपयुक्त समय मानिन्छ । पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार यहाँ वार्षिक करिब ३० हजार पर्यटक आउँछन् । चालु आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले पुनहिल प्रवेश शुल्क र चिया पसल सञ्चालनको ठेक्का रु ५४ लाखमा सम्झौता गरेको छ ।
हाल विदेशी पर्यटकले प्रतिव्यक्ति रु १५० र नेपालीले रु ५० तिर्नुपर्छ । ठेक्का लिने व्यवसायी सुदीप पुर्जा पुनका अनुसार पछिल्लो एक हप्तामा दैनिक १५० देखि २०० जना पर्यटक आएका छन् । “गत वर्ष यही समयमा दैनिक करिब ४०० पर्यटक आउँथे,” उनले भने, “जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण यस वर्ष आगमन घटेको छ ।”
घोडेपानीमा अहिले २३ वटा आधुनिक होटल छन्, जसमा दैनिक एक हजारभन्दा बढी पर्यटक बस्न सक्छन् । होटलहरूले अर्ग्यानिक खाना, आरामदायक कोठा र इन्टरनेटसहितका सुविधा उपलब्ध गराएका छन् ।
समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित घोडेपानीका अधिकांश कोठाबाटै हिमालको दृश्य देख्न सकिन्छ । पोखरादेखि नयाँपुल हुँदै एकैदिनमा यहाँ पुग्न सकिन्छ ।
त्यसैगरी, कास्कीको घान्द्रुक वा म्याग्दीको तातोपानी–मोहरेडाँडा हुँदै पनि पुनहिल पुग्न सकिन्छ । नयाँपुल–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख–घोडेपानी गरी विभिन्न पदमार्गहरू सञ्चालनमा छन् ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै सडकमार्गबाट पनि घोडेपानी पुग्न सकिन्छ । संघीय र प्रदेश सरकारको सहकार्यमा पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति भइरहेको छ ।
वडाध्यक्ष रामबहादुर खड्काका अनुसार, “पुनहिलबाट हुने आम्दानीको केही हिस्सा पूर्वाधार विकासमा लगानी भइरहेको छ । पैदल यात्रु र सवारीमार्ग दुवैमार्फत आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित काम भइरहेको छ ।”
हालै नयाँपुल–घोडेपानी–पोखरेबगर जोड्ने सडक पनि खोलिएको छ । वडाध्यक्ष खड्काका अनुसार यो सडक पोखरा–जोमसोम आवागमनका लागि छोटो र वैकल्पिक मार्गका रूपमा विकास गर्ने योजना छ ।





