मुख्य पर्यटकीय सिजनमै अन्नपूर्ण क्षेत्रमा पर्यटक घटे |



पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत सेप्टेम्बर महिनामा १९ हजार ३८६ विदेशी पर्यटकले भ्रमण गरेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिभन्दा ३ हजार ७०२ ले कम हो ।

सेप्टेम्बर–अक्टोबर मुख्य पर्यटकीय याम मानिँदै आएको भए पनि यस वर्ष यही समयमा पर्यटक आगमन घटेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) का प्रमुख डा. रवीन कडरियाका अनुसार ‘जेनजी’ आन्दोलनका कारण देशभरका यात्रुहरूमा उत्पन्न असहजता र प्रतिकूल मौसमले आगमनमा असर पारेको हो ।

“मुख्य सिजनमै जेनजी प्रदर्शनको प्रभाव पर्‍यो, कतिपय विदेशीले यात्रा नै रद्द गरे,” उनले भने, “विशेषतः मुक्तिनाथतर्फ आउने भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ ।”

गत सेप्टेम्बरमा अन्नपूर्ण क्षेत्रमा आएका मध्ये ८ हजार ५४२ पर्यटक एसियाली मुलुकका र १० हजार ८४४ अन्य देशका थिए । डा. कडरियाले अन्नपूर्ण क्षेत्रका सबै गन्तव्यहरू सुरक्षित र शान्त रहेको बताउँदै विदेशी तथा आन्तरिक पर्यटकहरूलाई ढुक्क भएर भ्रमण गर्न आग्रह गरे ।

उनका अनुसार, नेपालको छवि सुरक्षित र आकर्षक गन्तव्यको रूपमा विश्वमाझ पुनः स्थापित गर्न सरकार र सरोकारवालाले संयुक्त रूपमा प्रयास गर्नुपर्ने आवश्यकता छ ।

त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पुनहिल प्रवेश कक्षका अमृत पुनका अनुसार हालैका दिनमा दैनिक झण्डै २०० विदेशी पर्यटक घोरपानी–पुनहिल क्षेत्र भ्रमण गर्न पुगेका छन् । “अघिल्ला वर्षमा यही समयमा दैनिक ४०० सम्म विदेशी आउँथे, अहिले त्यो सङ्ख्या आधा जति मात्रै छ,” उनले भने ।

घोरपानीका होटल व्यवसायी डमबहादुर पुनका अनुसार, आफ्ना होटलमा बुकिङ गरेका २७ वटा विदेशी समूहले भ्रमण रद्द गरेका छन् ।

७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडालाई समेटेको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जीवनशैली र स्थानीय संस्कृति अन्नपूर्ण क्षेत्रका मुख्य आकर्षण हुन्, जसले हरेक वर्ष हजारौँ आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्