
काठमाडौँ, २२ असोज – गीतकार डब्बु क्षत्रीको नयाँ गीत ‘लहर झैँ’ सार्वजनिक भएको छ। बडा दसैँको अवसर पारेर हालै भिडियो पनि युट्युबमार्फत रिलिज गरिएको हो।

यस गीतलाई गायिका बेनिसा पौडेलले स्वर दिएकी छन् भने पप शैलीको संगीत जुगल डंगोलले तयार गरेका छन्। गीतको संगीत संयोजन र भिडियो निर्देशन पनि डब्बु क्षत्रीले नै गरेका हुन्। भिडियो ‘एसबी क्रिएसन नेपाल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ भने निर्माता विलक्षण क्रियसन रहेका छन्।

गीतको भिडियोमा सरिता भारतीको अभिनय देख्न सकिन्छ। भिडियोमा एउटा युवतीको उत्साह, स्वतन्त्रता र चरीझैँ उड्न चाहने भावना प्रस्तुत गरिएको छ। भिडियो पूर्ण रूपमा मलेशियाका विभिन्न रमणीय स्थल र समुन्द्र किनारमा छायांकन गरिएको छ। छायांकन तथा फोटो पत्रकार बद्री थापाले गरेका हुन् भने सम्पादन र रंग संयोजन बिरेन्द्र भाट ‘बिपिन’ले गरेका छन्।
गीतकार डब्बु क्षत्रीका अनुसार, गीत ‘लहर झैँ सागरमा नाच्न मन लाग्यो, हाँस्दै खेल्दै रमाउँदै बाँच्न मन लाग्यो…’ ले किशोरीहरूको स्वतन्त्रता र सपनालाई प्रोत्साहित गर्ने उद्देश्य राखेको छ। उनका शब्दमा, “युवतीहरूले स्वतन्त्र रूपमा सपना देख्नुपर्छ र ती सपना पुरा गर्न पनि आवश्यक छ।”





