
नुवाकोट । गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा तयार भएको नयाँ गीत ‘वयान’ भिडियोसहित सार्वजनिक गरिएको छ। नुवाकोट बिदुरस्थित शिवालय सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो लोकार्पण गरिएको हो। कार्यक्रममा भिडियो निर्माण टिमसँगै नुवाकोटका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।
गीतमा नुवाकोटका व्यवसायी सन्तोष सरगम अधिकारीको शब्द रचना र सरोज पोखरेलको संगीत रहेको छ। रोशन दासले निर्देशन गरेको भिडियोमा सन्तोष सरगम अधिकारीको जीवनयात्रा र सफलताको कथा प्रस्तुत गरिएको छ।

नितेश घतानको छायांकन र विनोद बमको सम्पादनमा तयार गरिएको भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण बिक र रुपा पुडासैनी फिचर्ड छन्। विशेषगरी सन्तोष र प्रियनाको केमेस्ट्रीलाई दर्शकले मन पराएको देखिन्छ।
सन्तोष सरगम अधिकारीको यो पहिलो म्युजिक भिडियो हो। उनले आफैं निर्माण गरेको भिडियो सरोज पोखरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भिडियोमा नुवाकोटका विभिन्न रमणीय स्थलहरूलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

शिवालय सिनेप्लेक्सका सञ्चालक समेत रहेका सन्तोष सरगम अधिकारीले नुवाकोटमा विभिन्न ब्राण्ड स्थापना गर्दै सफल व्यवसायीको पहिचान बनाइसकेका छन्। कार्यक्रममा उनले ‘वयान’को प्रतिक्रिया हेरेर आगामी दिनमा निरन्तर नेपाली संगीत क्षेत्रमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे।





