दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घट्यो पर्यटक आगमन |



तनहुँ । दसैँको अवसरमा पर्यटकले भरिने बन्दीपुर यस वर्ष सुनसान बनेको छ । विगतका वर्षमा दैनिक एक हजारभन्दा बढी पर्यटकले गुलजार हुने बन्दीपुरमा यसपालि आन्दोलनपछि पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनअघि यहाँका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशत रहँदा अहिले भने बुकिङसमेत रद्द हुन थालेको पर्यटन व्यवसायीको गुनासो छ ।

बन्दीपुर भ्रमण वर्ष २०२५ घोषणा गरेर प्रचार–प्रसारमा लागेको बेलामा यो परिस्थितिले व्यवसायीलाई अन्योलमा पारेको छ । सचिवालय संयोजक एवं व्यवसायी वैशबहादुर गुरुङले “दसैँ–तिहार बन्दीपुरका लागि उपयुक्त समय हो, तर आन्दोलनले यसको प्रत्यक्ष असर पारेको छ” भने । उनका अनुसार कोभिडपश्चात् तङ्ग्रिँदै गरेको पर्यटन फेरि संकटमा परेको अनुभूति भएको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर सुरक्षित रहेको सन्देश दिएर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । उनका अनुसार आन्दोलनअघिसम्म दैनिक एक हजारभन्दा बढी पर्यटक आउँदा अहिले मुस्किलले सयजना पुग्ने गरेका छन् । सडक अवस्थाले पनि पर्यटक आगमनमा असर गरेको उनको भनाइ छ । उनले विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुर आउने पाहुनालाई स्वागत गर्ने तयारी भएको जानकारी दिए ।

वि.सं. २०८१ मा दुई लाख पर्यटकमध्ये ६० हजार विदेशी र एक लाख ५० हजार स्वदेशीले बन्दीपुर भ्रमण गरेका थिए । यस वर्ष त्यो संख्याको दोब्बर पुग्ने लक्ष्य राखिएको थियो । जापान, चीन, फ्रान्स, अमेरिका, अष्ट्रेलिया, जर्मनी, भारतलगायत २५ भन्दा बढी मुलुकका पर्यटक यहाँ आएका तथ्याङ्क छ ।

खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा, मिनी ग्रेटवाल, तीनधारा, झरना, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलगायतका गन्तव्यसँगै भक्तपुरे शैलीका घर र रानीवन, रामकोट, सुनखरीजस्ता स्थल पर्यटक आकर्षणका मुख्य केन्द्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्