मुख्य याममै सुनसान म्याग्दीका पर्यटकीय गन्तव्य |



म्याग्दी । पर्यटनको मुख्य सिजन मानिने असोज–कात्तिक महिनामा म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतमा यस समयमा पाहुनाको स्वागत–सत्कारमा व्यस्त रहने होटल र व्यवसायी यसपालि भने फुर्सदिला बनेका छन् ।

बेनीका होटल व्यवसायी राजन लामाका अनुसार ‘जेनजी पुस्ता’ आन्दोलन, नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा बारम्बार पहिरोका कारण यातायात अवरुद्ध हुँदा पर्यटन व्यवसाय गम्भीर रूपमा प्रभावित भएको हो । “चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि आगन्तुकको सङ्ख्या २० वर्षयताकै न्यून छ,” उनले भने ।

विगतमा मुस्ताङ जाने आउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ बनाउने गर्थे । घटस्थापनाअघि सोह्र श्राद्धमा कागबेनीमा पितृतर्पण र मुक्तिनाथ दर्शनका लागि नेपाल–भारतका तीर्थयात्रीको भीड लाग्ने गर्थ्यो । तर, यस वर्ष सोह्र श्राद्धको बेला पनि तीर्थयात्रीको उपस्थिति न्यून रह्यो ।

अन्नपूर्ण चक्रीय पदमार्गको चर्चित गन्तव्य घोडेपानी–पुनहिल क्षेत्रमा पनि पर्यटकको चहलपहल घटेको छ । स्थानीय होटल व्यवसायी डमबहादुर पुनका अनुसार ३६ जनाको विदेशी समूहले असहज परिस्थिति देखाउँदै बुकिङ नै रद्द गर्‍यो । “विदेशी आगमन विगतको तुलनामा एक तिहाइ पनि छैन, स्वदेशी पर्यटक पनि आएका छैनन्,” उनले बताए ।

घोडेपानीबाट ३० मिनेट पैदल उकालो चढेपछि पुगिने पुनहिल समुद्री सतहदेखि ३,२१० मिटर उचाइमा अवस्थित छ । यहाँको सूर्योदय, हिमालशृङ्खला र पहाडी भूगोल अवलोकन गर्न असोज–कात्तिकमा सामान्यतया दैनिक तीन सय हाराहारी विदेशी तथा त्यत्तिकै संख्यामा स्वदेशी पर्यटक आउने गर्थे । घोडेपानीमा दैनिक एक हजार पाहुनालाई बस्न सक्ने २५ वटा सुविधायुक्त होटल भए पनि यसपालि सुनसान छन् ।

चित्रे–घोडेपानी सडक स्तरोन्नति भइरहेकाले आन्तरिक पर्यटकका लागि यातायात सहज छैन । त्यस्तै, बेनी–जोमसोम मार्ग नजिकैको सिङ्गा तातोपानी र भुरुङ–तातोपानी कुण्ड पनि खाली छन् । प्राकृतिक उपचार स्थलका रूपमा परिचित सिङ्गा तातोपानी तथा थकाइ मेटाउने थलो मानिने भुरुङ–तातोपानीमा पर्यटक अभाव भएपछि व्यवसायीहरू वैकल्पिक पेशा खोज्न बाध्य भएका छन् ।

भुरुङ–तातोपानीका होटल व्यवसायी अमृतमान शेरचनले भने, “दसैँअघि आगमन निराशाजनक छ । यदि दशैँपछि पनि यही अवस्था रह्यो भने व्यवसाय छाडेर ऋण तिर्न विकल्प खोज्नुपर्ने बाध्यता आउँछ भन्ने चिन्ता बढेको छ ।”

भुरुङ–तातोपानी अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको प्रवेशद्वार पनि भएकाले यहाँको सुनसानपनले सम्पूर्ण पर्यटन शृङ्खलामा प्रत्यक्ष असर पारेको छ ।

प्रतिक्रिया दिनुहोस्