‘जोवनै ढल्की गएसी’ सार्वजनिक



काठमाडौं । गीतकार, साहित्यकार तथा समाजसेवी हरिभक्त बुढाथोकीको शब्द र भीम बी.सीको संगीतमा तयार भएको नयाँ गीत ‘जोवनै ढल्की गएसी’ सार्वजनिक गरिएको छ । मेलिना राई र टेक बी.सीको स्वरमा रहेको उक्त गीत हरिभक्त बुढाथोकीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा कलाकार सलोन बस्नेत, टेक बी.सी र बिनिता ओलीले अभिनय गरेका छन् । भिडियोको छायांकन नवराज उप्रेती, सम्पादन विवेक सुनार र सृगार मिलन विश्वकर्माले गरेका हुन् । नृत्य निर्देशन विशाल कैनेले गरेका सो भिडियो सान थापाको निर्देशनमा बनेको हो भने सहायक निर्देशकमा सुमन बस्नेत रहेका छन् ।

८६ वर्षीय बुढाथोकी नेपाली साहित्य, संगीत र समाजसेवामा योगदान पु¥याउँदै आएका अग्रणी व्यक्तित्व हुन् । एक दर्जनभन्दा बढी पुस्तकका लेखकका साथै पाँच विधामा अनुसन्धानात्मक सोधपत्र लेखेका उनी नेपालीमा ड्राइभिङ सम्बन्धी पुस्तकका प्रथम लेखक, सोही विषयको पत्रिकाका पहिलो सम्पादक–प्रकाशक तथा तेरथुम जिल्लाका पहिलो नाटककारका रूपमा चिनिन्छन् । उनको पहिलो नाटक ‘बसन्त कोपिला’ हो ।

यसअघि बुढाथोकीका प्यारो बाबा, बुढेसकाल, संघर्ष, नजर लाग्ला नि, मुटुमै गाँसेको साइनो, दुरी मलाई हुनु छैन, जिन्दगी हौ तिमी मेरो, डार्लिङ, मलाई हार्न दिंदैन लगायतका गीत सार्वजनिक भइसकेका छन् । यस्तै, पतञ्जलि योग गान तथा रोटरी गान जस्ता सिर्जनाले पनि व्यापक चर्चा पाएका छन् । समाजसेवीका रूपमा उनले सामाजिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका उदाहरणहरू प्रशस्त पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्