
धनगढी । बिहानदेखि बेलुकीसम्म साइकल मर्मत गर्दै बिताउने बृहस्पति बुढाक्षेत्री साँझ भने धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस पुग्छन् । ५६ वर्षीय उनी अहिले त्यहाँ स्नातकोत्तर तहमा अध्ययनरत छन् ।
धनगढी उपमहानगर–१ मा सानो टहरो बनाएर सुरु गरेको साइकल मर्मत व्यवसायले उनलाई अहिले घरजग्गा र आफ्नै घरसम्मको मालिक बनाइसकेको छ । “पढेलेखेकाले साइकल मर्मतलाई तल्लो दर्जाको काम भन्छन्, तर म भने यसलाई शान र मानकासाथ अघि बढाइरहेको छु,” उनी भन्छन् ।
अछाम पुर्ख्यौली घर भएका बुढाक्षेत्रीले युवावस्थाको लामो समय भारतमा बिताए । ३८ वर्षको उमेरमा विवाह गरेका उनले अहिले दुई छोरालाई बोर्डिङ स्कुलमा पढाइरहेका छन् । आफ्नै ठाउँमा बसेर श्रम गरेर सहज जीवनयापन गर्न सकिन्छ भन्ने उदाहरण उनी बनेका छन् ।
“विदेश जान खोज्ने युवालाई म आफ्नै भूमिमा बसेर उद्यम गर्न सल्लाह दिन्छु,” उनले भने । सुरुका दिनमा विद्यालयमा छोराको शुल्क बुझाउन जाँदा आफूलाई हेयको दृष्टिले व्यवहार गरिएको अनुभव उनी सुनाउँछन् । तर, अर्को दिन अंग्रेजी भाषामा शिक्षकसँग कुरा गर्दा सम्मानजनक व्यवहार पाएको क्षणलाई उनी जीवनको महत्वपूर्ण शिक्षा ठान्छन् । “योग्यता भए कदर पनि पाइन्छ भन्ने कुरा त्यसबेला प्रष्ट बुझें,” उनी भन्छन् ।
उनको साइकल मर्मत टहरो दिउँसो बुद्धिजीवी, समाजसेवी र स्थानीय नेताहरूको भेटघाट केन्द्र बन्ने गरेको छ । त्यहाँ देशका सामाजिक, आर्थिक र राजनीतिक विषयमा बहस हुने गरेको छ ।
“बुढाक्षेत्रीले शिक्षासँगै श्रमलाई पनि सम्मान गर्दै उदाहरण प्रस्तुत गर्नुभएको छ,” सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डिन पदमकान्त जोशी भन्छन्, “स्नातकोत्तर तहमा अध्ययनरत रहँदा पनि उहाँको परिश्रम शिक्षित बेरोजगारका लागि प्रेरणादायी बनेको छ ।”





