अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दो |



म्याग्दी । शरद ऋतु सुरु हुनासाथ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित अन्नपूर्ण आधार शिविरमा पर्यटकहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ। मौरिस हर्गोज पदमार्ग हुँदै पुग्ने पदयात्रीहरूको संख्यामा वृद्धि भएसँगै यहाँको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको हो।

अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको यात्रा गरिरहेका छन्। दसैं–तिहार बिदाको समयमा यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। छोटो समयमा पुग्न सकिने र आकर्षक प्राकृतिक दृश्यावलोकन गर्न सकिने भएकाले यो पदमार्ग पर्यटकहरूको रोजाइमा परेको बताइन्छ।

यात्रामा मिस्त्रीखोलाको किनार, अग्ला झरना, मनमोहक हिमश्रृंखला, अनौठो भूगोल, दुर्लभ वनस्पति र वन्यजन्तु अवलोकन गर्न सकिन्छ। नारच्याङबाट दुई घण्टा गाडीमा हुमखोला पुगेर त्यहाँबाट दुई दिनमा आधार शिविर पुग्न सकिन्छ भने तेस्रो दिनमा फर्कन सकिन्छ। सहरको कोलाहलबाट टाढा शान्त र एकान्त वातावरण खोज्नेहरूका लागि यो पदमार्ग उपयुक्त गन्तव्य बनेको छ।

अन्नपूर्ण गाउँपालिकाले पदमार्गको व्यवस्थापन र पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छ। यहाँ आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानीको सुविधा र ४,१०० मिटर उचाइमा खुला संग्रहालय समेत स्थापना गरिएको छ। साथै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्क्याप) को सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल पनि निर्माण गरिएको छ।

पदमार्गमा रहेका चिया पसल र क्याम्पिङ स्थलहरूले पर्यटकलाई खान, बस्न सहज बनाएका छन्। त्यस्ता क्याम्पिङ स्थलहरूमा दैनिक ५० जनासम्म पर्यटक बस्न सक्ने क्षमता रहेको छ। यससँगै स्थानीय स्तरमा रोजगारी र आयआर्जनको अवसर समेत बढेको छ।

प्रतिक्रिया दिनुहोस्