
काठमाडौँ – भदौ २४ गते जेनजी पुस्ताको नाममा भएको तोडफोड र आगजनीका क्रममा देशभरका विभिन्न क्षेत्रका ६ सय २९ भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। सो आन्दोलनका क्रममा एक हजार ५६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ।
नेपाल प्रहरीले प्रारम्भिक विवरण अनुसार आन्दोलनका समयमा भएको तोडफोड र आगजनीबाट भवनहरूमा क्षति पुगेको जनाएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, नेपाल प्रहरीका १७७ भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने २५८ भवनमा आंशिक क्षति पुगेको छ।
सरकारी कार्यालयको अवस्थाको विवरण अनुसार, तीन सय १० सरकारी भवन पूर्णरूपमा ध्वस्त भएका छन् भने ८३६ सरकारी भवनमा आंशिक क्षति पुगेको छ।
त्यसैगरी, व्यापारिक र निजी क्षेत्रका ९७ भवन पूर्णरूपमा क्षतिग्रस्त भएका छन् र २९२ भवनमा आंशिक क्षति पुगेको छ। राजनीतिक दलका कार्यालयहरूमध्ये ४५ कार्यालय पूर्ण क्षतिग्रस्त भए भने १७४ कार्यालयमा आंशिक क्षति पुगेको छ।
प्रवक्ता घिमिरेले भने, मूल्याङ्कन अझै सम्पन्न भएको छैन र क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।





