मनास्लु आरोहणका लागि दुई सय २४ जनाले अनुमति |



गोरखा । यस वर्षको शरद ऋतु (सेप्टेम्बर–नोभेम्बर) मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि विभिन्न मुलुकका १७ टोलीमार्फत सो संख्यामा आरोही दर्ता भएका हुन् । यो तथ्याङ्क शुक्रबारसम्मको हो ।

विभागका तथ्याङ्कअनुसार एक सय ६९ पुरुष र ५५ महिलाले मनास्लु आरोहणको अनुमति लिएका छन् । उनीहरूबाट मात्रै रु नौ करोड ४३ लाख २२ हजार ८६० राजस्व संकलन भएको छ ।

शरद ऋतुमा सबैभन्दा बढी आरोहीले मनास्लु नै रोज्ने गरेका छन् । यस सिजनमा अहिलेसम्म सगरमाथा आरोहणका लागि मात्र एक जनाले अनुमति लिएका छन् भने ल्होत्से चढ्न दुई जनाले अनुमति लिएका छन् । त्यस्तै सात हजार ८५५ मिटर अग्लो नुप्त्से आरोहणका लागि ११ जना र छ हजार ३९५ मिटर अग्लो ल्यायुल हिमाल आरोहणका लागि १५ जनाले अनुमति लिएका छन् ।

गत वर्ष यस्तै समयमा चार सय एक जनाले मनास्लु आरोहण अनुमति लिएका थिए । अहिले हिमालमा डोरी टाँग्ने (रोप फिक्सिङ) काम भइरहेको र आरोहीहरू सामागाउँ पुग्न थालेको चुमनुब्री गाउँपालिका–१ का वीरबहादुर लामाले जानकारी दिए । लमजुङ, मनाङ हुँदै लार्के पास पार गर्ने आरोहीको संख्या बढी हुने तर कोही हेलिकप्टरमार्फत पनि पुग्ने गरेका छन् ।

राष्ट्रियता अनुसार चीनका सबैभन्दा धेरै ४३ जनाले अनुमति लिएका छन् । त्यस्तै पोल्याण्डका २५, रुसका २३, नेपाली २३, अमेरिकी १६, जापानी १३, फ्रान्सेली १२ र क्यानडाली १० जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लीलाधर अवस्थले आरोहण सिजन अब मात्र सुरु भएकाले आगामी दिनमा अनुमति लिनेको संख्या बढ्ने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्