
कैलाली । कैलालीसँगै सिमाना जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र ९ मा अवस्थित ‘प्यारा ताल’ जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिन्छ । छ किलोमिटर लम्बाइ, सरदर ७० मिटर चौडाइ र १५ फिट गहिराइ भएको यो ताल दुर्लभ जलचर र उभयचर प्राणीको बासस्थानका कारण विशेष महत्त्व राख्छ ।
तालमा विश्वमै दुर्लभ मानिने जलचर ओद (मांशाहारी प्राणी), दक्षिण एसियामा दुर्लभ पहेंलोधुरे कछुवा, गोही, जलकपुरसहित ३५ प्रजातिका माछा पाइन्छन् । यिनै कारणले यसलाई जैविक विविधताको दृष्टिले महत्वपूर्ण सम्पदा मानिन्छ । तर राज्यका निकायको ध्यान नपुग्दा ताल अतिक्रमण र अस्तित्व संकटमा परेको स्थानीयहरूको भनाइ छ ।
प्याराताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दिपेन्द्र बस्नेतका अनुसार नागरिकस्तरमै अभियान थालिएको हो । २०८० असार २० गतेदेखि सुरु भएको अभियानमा सुरुवाती चरणमै नागरिकबाट आर्थिक सहयोग संकलन भएको थियो । संरक्षणसँगै ताललाई पर्यटनको गन्तव्य बनाउन विभिन्न प्रतिमाहरू — ओद, पहेंलोधुरे कछुवा, जलकपुर माछा, जरायो र गोही — निर्माण गरिएको छ भने मयँर, पाठेबाघ र सिम कुखुराको प्रतिमा निर्माण कार्य पनि अघि बढाइएको छ ।
सरकारले पनि संरक्षणका लागि गत आव २०८१/८२ मा रु ९० लाख विनियोजन गरेको थियो । सो रकममध्ये रु ७३ लाखमा तटबन्ध निर्माणको टेन्डर भई हालसम्म ८५ मिटर काम सम्पन्न भइसकेको र २५ मिटर काम बाँकी रहेको बस्नेतले जानकारी दिए । साथै, ताल परिसरमा माटो फिलिङ र एउटा सभाहल पनि निर्माण गरिएको छ ।
नगरपालिकाले ताललाई पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको छ । स्थानीयको अपेक्षा छ— समयमै संरक्षण र प्रचारप्रसार गर्न सके सुदूरपश्चिमकै आकर्षक पर्यटकीय स्थलका रूपमा प्यारा ताल स्थापित हुनेछ । तर छिमेकी भारतसँग भूभाग जोडिएको यो तालमा राज्यस्तरबाट ढिला भएमा संरक्षणमा चुनौती थपिन सक्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।





