थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन



काठमाडौँ । थाइल्यान्डको राजधानी बैङ्ककमा सम्पन्न ‘पाटा ट्राभल मार्ट–२०२५’ मा ‘नेपाल पभेलियन’मार्फत नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा नेपालको उल्लेखनीय ब्रान्ड पहिचान स्थापित भएको जनाएको छ ।

नेपाल पर्यटन बोर्डले नेपाल वायुसेवा निगम र १४ निजी पर्यटन कम्पनीसँग सहकार्य गर्दै गत अगस्ट २६ देखि २८ सम्म बैङ्ककस्थित क्विन सिरिकिट नेसनल कन्वेन्सन सेन्टरमा सम्पन्न अन्तर्राष्ट्रिय बी२बी ट्राभल ट्रेड इभेन्टमा सहभागिता जनाएको हो । पाटा नेपालका अनुसार नेपाललाई विश्व पर्यटन बजारमा जीवन्त र वर्षभर भ्रमण गर्न सकिने अद्वितीय हिमाली गन्तव्यका रूपमा प्रस्तुत गरिएको छ ।

मार्टमा ५० भन्दा बढी गन्तव्यका एक हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । तीमध्ये ३० गन्तव्यका २२५ संस्थाबाट ४०० भन्दा बढी विक्रेता उपस्थित थिए, जसमा ५२ प्रतिशत पहिलो पटक सहभागी भएका हुन् । यस्तै ४१ प्रमुख स्रोत बजारका २१८ संस्थाबाट २२५ क्रेता सहभागी भएका थिए, जसमा ६५ प्रतिशत नयाँ सहभागी रहेका थिए ।

विविध नेपाली पर्यटकीय उत्पादनसहित स्तूपा–थिममा सुसज्जित ‘नेपाल पभेलियन’ प्रदर्शनीको आकर्षण बनेको थियो । पर्वतारोहण, पदयात्रा, अध्यात्म, वेलनेस, लक्जरी ट्राभल र समुदाय–आधारित पर्यटनजस्ता आयामको प्रस्तुतीकरणले अन्तर्राष्ट्रिय प्रदर्शक र खरिदकर्ताको ध्यान खिचेको पाटा नेपालले जनाएको छ । यसले सार्वजनिक–निजी साझेदारीमार्फत नेपालको पर्यटन प्रवर्द्धनको सफल मोडललाई विश्वमञ्चमा उजागर गरेको बताइएको छ ।

मार्टमार्फत सन् २०२६ जुन २ देखि ४ सम्म काठमाडौँमा आयोजना हुने हिमालयन ट्राभल मार्ट (HTM) को छैटौँ संस्करणसमेत प्रवर्द्धन गरिएको छ । उद्घाटन सत्रमा पाटा अन्तर्राष्ट्रिय अध्यक्ष पिटर सेमोनले एसिया–प्रशान्त क्षेत्रमा दिगो पर्यटनको भविष्यलाई आकार दिन मार्ट उपयोगी भएको बताए ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले ६ वर्षपछि पर्यटन बोर्डसँगै सहभागिता प्रभावकारी बनेको उल्लेख गर्दै यसपटक नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स’ गन्तव्यका रूपमा प्रवर्द्धन गर्न ध्यान केन्द्रित गरिएको जानकारी दिए । बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले पनि मार्ट फलदायी बनेको विश्वास व्यक्त गरे ।

पाटा नेपालका अनुसार आगामी वर्ष पाटा ट्राभल मार्ट सन् २०२६ अगस्ट १८ देखि २० सम्म मलेसियामा आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्