
झापा। कोशी प्रदेशका नौ जिल्लाका ५४ सामुदायिक वनले आयआर्जनका लागि पर्यापर्यटन गतिविधि सञ्चालन गरिरहेका छन् । यीमध्ये आधाभन्दा बढी सामुदायिक वन सिमसार क्षेत्रमा अवस्थित छन् ।
पर्यटक आकर्षण गर्ने सामुदायिक वनमध्ये २३ वटा झापामा, नौ वटा सुनसरीमा र सात वटा मोरङमा रहेका छन् । त्यस्तै, उदयपुरमा पाँच, धनकुटा र तेह्रथुममा तीन–तीन, इलाममा दुई, ताप्लेजुङमा एक र सङ्खुवासभामा एक सामुदायिक वन पर्यापर्यटनमा सक्रिय रहेको कोशी प्रदेश वन निर्देशनालयका सहायक वन अधिकृत सुशान्त पोखरेलले जानकारी दिए ।
पहिले उत्पादन, संरक्षण र बिक्री वितरणमै सीमित सामुदायिक वनहरू अहिले पर्यापर्यटनतर्फ सक्रिय बनेका छन् । सिमसार, पोखरी, वनभोज, नौका विहार, मिनी चिडियाखाना, बाल उद्यान, मनोरञ्जनात्मक खेल, वन उद्यान र सेल्फी स्पट निर्माण गरी आकर्षक पूर्वाधार विकास भइरहेको छ ।
५४ सामुदायिक वनमध्ये ३३ वटाले सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा उपयोग गरिरहेका छन् । तीमध्ये तीन सामुदायिक वनमा मिनी चिडियाखाना र दुईमा वन्यजन्तु उद्धार केन्द्र सञ्चालनमा छन् । कचनकबलको दुर्गाभिट्टा सामुदायिक वन र कनकाईको जामुनबारी सामुदायिक वनमा उद्धार केन्द्र रहेका छन्, जहाँ अन्यत्रबाट उद्धार गरिएका जङ्गली जनावर र पन्छी संरक्षणका लागि ल्याइन्छन् ।
कोशी प्रदेशका तीन मिनी चिडियाखानामध्ये दुई मोरङ र एउटा सुनसरीमा छन् । बेलबारीको बेतना सिमसार सामुदायिक वन, पथरी शनिश्चरेको मनकामना सामुदायिक वन र धरानको हरियाली सामुदायिक वनमा नौका विहार, वनभोजसँगै मिनी चिडियाखाना सञ्चालन गरिएको छ ।
हाल कोशी प्रदेशमा तीन हजार ७२१ सामुदायिक वन रहेका छन् ।





