पचभैयामा बढ्दै पर्यटक आकर्षण



गण्डकी। सात तालको बगैँचा भनेर परिचित लेखनाथमा बेगनास र रुपा तालबीच अवस्थित रमणीय स्थल पचभैया पछिल्लो समय धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्वका कारण पर्यटकहरूको आकर्षण बन्दै गएको छ।

जनविश्वासअनुसार महाभारतकालीन समयमा गुप्तवासका क्रममा पाण्डवले पचभैयामा एक रात बिताएका थिए। यही विश्वासका आधारमा यो स्थानलाई धार्मिक दृष्टिले पवित्र मानिन्छ। पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीनानाथ ढकालका अनुसार पाण्डव बसेकै कारण यस स्थानलाई पहिलोपटक पञ्चभैया भनियो, पछि अपभ्रंश हुँदै पचभैया नाम प्रचलनमा आएको हो।

साढे दुई दशकअघि स्थानीय पहलमा यहाँ मन्दिर निर्माण गरिएको हो। विसं २०६० मा गरिएको महायज्ञबाट झण्डै ५० लाख संकलन गरी मन्दिर, हवनकुण्ड, पुजारी आवास तथा कार्यालय निर्माण गरिएको थियो। मन्दिरभित्र प्राचीनकालदेखि कै शिला विराजमान छ।

पचभैया क्षेत्रबाट अन्नपूर्ण, धवलागिरी र मनास्लु हिमशृङ्खलासहित बेगनास र रुपा तालको मनोरम दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ। करिब डेढ किलोमिटर दूरीमा पर्ने यस क्षेत्रलाई होटेल तथा रेस्टुरेन्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष दामोदरभक्त थापाले आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनाएका छन्। यहाँ अहिले १४ वटा होमस्टे सञ्चालनमा छन् भने केही होटल पनि निर्माणाधीन छन्।

पर्यटनसँगै जलपर्यटन र पर्यावरणीय पर्यटनको सम्भावना बोकेको यस क्षेत्रमा पचभैया प्राणी उद्यान केन्द्र थपिएको छ। लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी सामुदायिक वनलाई समेटेर स्थापना गरिएको यो केन्द्र गण्डकी प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय कास्कीको सहयोगमा सञ्चालनमा आएको हो।

खुला चिडियाखानाको अवधारणामा सञ्चालित यस केन्द्रमा चितुवा, निलगाई, चित्तल, रतुवा मृग, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा लगायत करिब २२–२३ प्रजातिका वन्यजन्तु र पक्षी अवलोकन गर्न पाइन्छ। युनाइटेड क्लबले विसं २०६७ देखि सुरु गरेको अभियानअनुसार यहाँ चिडियाखाना स्थापना गरिएको हो।

रुपाताल क्षेत्रमा मात्र करिब २४ प्रजातिका माछा र ३६ प्रजातिका चरा पाइने भएकाले यस क्षेत्रको जैविक विविधताले पनि पर्यटकलाई आकर्षित गरेको छ। स्थानीय सिड फाउन्डेशन नेपालमार्फत सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन्।

हिमालय फरेष्ट रिसोर्ट पचभैयाका सञ्चालक प्रमोद भण्डारीका अनुसार प्राकृतिक सौन्दर्य, धार्मिक पृष्ठभूमि र जैविक विविधता एकसाथ भेटिने भएकाले पचभैया क्षेत्र पर्यटकीय रूपमा छिट्टै अग्रणी गन्तव्यका रूपमा स्थापित हुँदैछ।

प्रतिक्रिया दिनुहोस्