जलवायु परिवर्तनको असर : चौँरीपालन व्यवसाय सङ्कटमा



सिन्धुपाल्चोक । जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण उच्च हिमाली क्षेत्रमा हुने चौँरीपालन व्यवसाय अहिले संकटमा परेको छ।

तीन हजारदेखि ६ हजार मिटर उचाइमा वषौंयता चल्दै आएको घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ। वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण, चरन क्षेत्रमा घाँसको अभाव र मौसमी परिवर्तनजस्ता कारणले चौँरी, याक तथा भेँडापालन गर्ने किसानहरूको संख्या दिनप्रतिदिन घटिरहेको छ।

जुगल गाउँपालिका–तेम्बाथनका पासाङ शेर्पाले खर्कमा घाँस नपाइँदा चौँरीलाई खुवाउन कठिनाइ भएको बताए। उनका अनुसार अहिले हिमालमा पहिलेझैँ वर्षभरि हिउँ पर्दैन, जसले गर्दा चिसो पनि घटेको छ। “हिमाल टल्किने हिउँ अब हराइसकेको छ, काला ढुंगामात्र देखिन्छ,” उनले दुखेसो पोखे।

पाँचपोखरी क्षेत्रका इन्द्रबहादुर गुरुङले भने चौँरी तथा भेँडाको मृत्यु बढेपछि पुस्तौँदेखिको पेसाबाटै हात झिके। उनका छोराछोरी कोही काठमाडौँमा पढ्न गएका छन् भने कोही खाडी मुलुक रोजगारीका लागि पुगेका छन्।

अर्का किसान दलु लामाका अनुसार मौसम चौँरीअनुकूल नहुँदा घाँस र चरनयोग्य प्राकृतिक दाना हराउँदै गएका छन्। रोगको प्रकोपसँगै व्यापारीले सस्तोमा किनेर महँगोमा बिक्री गर्ने प्रवृत्तिले पनि युवा पुस्तालाई यस पेशाबाट विमुख बनाइरहेको छ।

लेकाली भेगका तामाङ र शेर्पा समुदायले चौँरीको दूधबाट चिज, छुर्पी, नौनी घिउ तथा भेँडाको रौँबाट राडीपाखी उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन्। तर, पछिल्ला वर्षमा चौँरी गोठ घट्दै जाँदा यस व्यवसायमा संकट थपिँदै गएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु क्षेत्रमा हाल करिब १३१ किसान मात्र चौँरी तथा भेडापालनमा संलग्न छन्। स्थानीय पालिकाहरूले चौँरी, याक र भेडाको संरक्षणका लागि बिमा कार्यक्रम सुरु गरेका छन्। पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार यसलाई वैदेशिक रोजगारीभन्दा आकर्षक पेसा बनाउन प्रयास भइरहेको छ।

तर, परम्परागत चौँरीपालनलाई अझै आधुनिक र व्यावसायिक बनाउन सकिएको छैन। राज्यस्तरबाट आवश्यक प्रोत्साहन नपाउँदा चौँरीपालन पेसा दिनानुदिन सङ्कटतर्फ धकेलिँदै गएको स्थानीय किसानहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्