
कञ्चनपुर — आठ दिनको उपचारपछि पुनर्जीवन पाएको अर्धवयस्क सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा सफलतापूर्वक प्रकृतिमा फर्काइयो। गाडीमार्फत ल्याइएको गिद्धलाई पिँजडाबाट छोडेपछि पखेटा फिँजाउँदै उडेको दृश्य दुर्लभ र भावुक बनाउने खालको थियो।
सबडिभिजन वन कार्यालय पहलवानपुरका वन अधिकृत शेरबहादुर भण्डारीका अनुसार गिद्ध टाउको झुकेको, हिँडडुल गर्न नसक्ने अवस्थामा कैलालीको लम्की चुहास्थित लालीगुराँस सामुदायिक वनबाट उद्धार गरिएको हो। “उद्धारका बेला बाँच्ने सम्भावना कम देखिए पनि नियमित उपचार, उचित स्याहार र आहारको कारण यसले पुनः तन्दुरुस्ती पायो,” उनले भने।
निकुञ्जको सुरक्षित क्षेत्रमा छाड्दा गिद्धले केही पाइला हिँडेर आकाशमा उडेको दृश्यले सबैलाई रोमाञ्चित बनाएको भण्डारीले बताए। केही बेरको उडानपछि गिद्ध अस्नाको रुखमा पखेटा फिँजाउँदै बसेको क्षण क्यामेरामा कैद गरिएको थियो।
यो गिद्ध गत साउन १९ गते लालीगुराँस सामुदायिक वन क्षेत्रमा बिरामी अवस्थामा भेटिएको हो। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जस्थित प्रकृति संरक्षण कोष (NTNC) का भेटेरिनरी चिकित्सक विकल्प कार्की नेतृत्वको टोलीले आठ दिनसम्म उपचार गरेको थियो।
नेपाल पक्षी संरक्षण सङ्घ (BCN) का चरा विज्ञ हिरुलाल डगौराका अनुसार गिद्ध पूर्वी नवलपरासीको जटायु रेष्टुराँबाट उडेर कपिलवस्तु हुँदै भारतका विभिन्न बस्तीमा पुगेपछि कैलालीको लम्की क्षेत्रमा बिरामी भेटिएको हो। लामो दूरीको यात्रामा पर्याप्त पानी र आहार नपाउँदा रगतको कमी भएर बिरामी परेको अनुमान गरिएको छ। बाह्य चोट भने भेटिएको थिएन।
गिद्धको खुट्टामा जडान गरिएको रातो स्याटेलाइट ट्याग ‘जे–१६’ मार्फत यसले नवलपुरबाट सुरु भएको उडान भारतको बहराइच, लखिमपुर, टिकुलिया, भजनी हुँदै मसुरिया पुगेको पुष्टि भएको डगौराले बताए।
नेपाल पक्षी संरक्षण सङ्घको तथ्याङ्कअनुसार यसअघि पनि जटायु रेष्टुराँको अर्को डङ्गुर गिद्ध भारतको पश्चिमी क्षेत्र हुँदै पाकिस्तानसम्म पुगेको थियो। यसपटक पनि BCN, सबडिभिजन वन कार्यालय लम्की र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गिद्धलाई पुनः प्रकृतिमा फर्काइएको हो।
गिद्ध अहिले पूर्ण स्वस्थ रहेको र रेडियो कलरको सहायताले जीपीएस ट्र्याकिङमार्फत यसको अवस्थाबारे निरन्तर अध्ययन गरिने डगौराले जानकारी दिए। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN) ले सानो खैरो गिद्धलाई ‘अति सङ्कटापन्न’ प्रजातिको सूचीमा राखेको छ।





