
काठमाडौं, असार २९ गते ।
अन्तरजातीय प्रेमकथामा आधारित नेपाली फिल्म ‘जदौ’मा अभिनेता प्रभातपाल ठकुरी अनुबन्धित भएका छन् । पछिल्लो समयका चर्चित मोडल तथा अभिनेता प्रभातपालले यस फिल्ममा अभिनेत्री नीति शाहसँग मुख्य भूमिकामा रोमान्स गर्नेछन् ।

फिल्मको निर्देशन कसले गर्ने हो भन्नेबारे औपचारिक रूपमा घोषणा नभए पनि यसको कथा लेखन तथा निर्माण परिकल्पनाको जिम्मेवारी काजी लिम्बूले सम्हालेका छन् ।
प्रभातपालसँगै फिल्ममा मुकुन भुसाल, नीति शाह, ऋचा शर्मा र विनोद न्यौपाने जस्ता कलाकारहरू पहिले नै अनुबन्धित भइसकेका छन् । सिनियर कलाकारहरूसँग एकै स्क्रिनमा अभिनय गर्न पाउनु आफूका लागि गर्वको विषय भएको र भूमिकालाई न्याय दिन बिशेष तयारीमा लागेको ठकुरीले बताएका छन् ।

‘सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट’ र ‘समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट’ को संयुक्त ब्यानरमा निर्माण हुने फिल्मका सह–निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री रहेका छन् । बुद्धि माझीले फिल्मको निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् ।
फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुने र मुख्यतया दाङ तथा प्युठानका विभिन्न स्थानमा खिचिने जानकारी सिल्भर स्क्रिन इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक बिमला भण्डारीले दिएकी छन् । फिल्ममा बाबुल गिरीको संगीत र श्याम तामाङको छायांकन रहनेछ ।
निर्माण टिमले केही दिनमै औपचारिक प्रेसमिटमार्फत फिल्मबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।





