
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८औं प्राज्ञसभा मंगलबार एक समारोहबीच सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र पूर्व कुलपति किरण मानन्धरले संयुक्त रूपमा गरे।

कुलपति हार्तम्छालीले प्राज्ञसभाले ललितकला क्षेत्रका लागि नयाँ दिशानिर्देश तय गर्ने विश्वास व्यक्त गर्दै, देशको परिवेशसँग मेल खाने कलाको सिर्जनाका लागि अनुकूल वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताए। उनले अनुसन्धान, खोज तथा प्रकाशन कार्यमा अझ बढी प्राथमिकता दिइने जानकारी दिँदै, ललितकलालाई पर्यटन प्रवर्धनसँग जोडेर व्यवस्थित रूपमा अघि बढाउने योजना सुनाए।

सचिव मैनालीले प्रतिष्ठानले सीमित स्रोत र साधनका बीच गरेको काम प्रशंसायोग्य रहेको बताउँदै, मन्त्रालय सधैं सहयोगी रहने आश्वासन दिए। उनले नीतिगत समस्याहरूलाई सल्लाह–सुझावका आधारमा सुधार गर्दै जान मन्त्रालय तयार रहेको धारणा राखे।
पूर्व कुलपति किरण मानन्धरले हाल भइरहेको कार्यको प्रशंसा गर्दै प्राज्ञसभाले नेपाली ललितकलामा नयाँ दृष्टिकोण ल्याउने विश्वास व्यक्त गरे।

उपकुलपति लालकाजी लामाले नेपालको ललितकला समृद्ध बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, केवल ललितकलाकर्मीको जोश मात्र पर्याप्त नहुने बताए। उनले यो सभा प्रतिष्ठानलाई साँच्चिकै प्राज्ञिक रूपमा अघि बढाउन आयोजना गरिएको स्पष्ट पारे।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले ललितकलालाई सामाजिक रूपान्तरणको अभियानको रूपमा अघि बढाइएको जानकारी दिँदै, स्रष्टाहरूले समाजमा सकारात्मक ऊर्जा भर्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले यो सभा ललितकला क्षेत्रमा गति दिने उल्लेख गरे।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञसभाको सफलताको शुभकामना दिँदै, अनुसन्धान कार्य प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले ललितकला प्रज्ञा–प्रतिष्ठानको सक्रियता प्रशंसायोग्य रहेको बताए।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ले ललितकला प्रतिष्ठानबाट सिक्न लायक कुराहरू धेरै रहेको बताउँदै, अहिले राष्ट्रियस्तरसम्म फैलिएको ललितकलाको लहर सकारात्मक पक्ष भएको धारणा राखिन्। उनले तीनवटै प्रतिष्ठानबीचको नीतिगत अधिकार साझा भएकाले सहकार्यद्वारा समस्याहरू समाधान गर्नुपर्नेमा जोड दिइन्।
सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले प्रतिष्ठानसँग सहकार्य, समन्वय र ऐक्यबद्धता विस्तार गर्न सांस्कृतिक संस्थान प्रतिबद्ध रहेको बताए। उनले संस्कृति सम्बन्धी कार्यमा फराकिलो सोच आवश्यक रहेको उल्लेख गर्दै, राज्यले संस्कृतिलाई प्रमुख अङ्गको रूपमा विकास गर्नुपर्ने धारणा राखे।





