गायक दीपक बज्राचार्यको नयाँ प्रस्तुति ‘प्रोजेक्ट नजिक’ पोडकास्ट श्रंखला सुरु



काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक दीपक बज्राचार्य अब नयाँ ढंगबाट दर्शकमाझ आउने भएका छन्। उनले सञ्चालन गर्ने पोडकास्ट श्रंखला ‘प्रोजेक्ट नजिक’ मंगलबार साँझ ८ बजेदेखि एपिवान टेलिभिजनमार्फत प्रसारण सुरु भएको छ।

यसअघि लोकप्रिय सांगीतिक टेलिभिजन कार्यक्रम ‘टिएमएस’ का प्रस्तोता समेत रहेका बज्राचार्यले नयाँ पोडकास्टमार्फत पर्दामुनि रहेका व्यक्तित्व, ओझेलमा परेका स्रष्टा, लोप हुन लागेका नेपाली बाजा र सांगीतिक योगदान दिने विभिन्न क्षेत्रका व्यक्तिहरूलाई दर्शकमाझ ल्याउने उद्देश्य राखेका छन्। उनले यस कार्यक्रममार्फत आफ्ना समकालीन साथीहरूसँग संवाद गर्दै दर्शकसँग अझ नजिक हुन खोजेको बताए।

पोडकास्टको प्रोमो भिडियोमा वरिष्ठ लोकगायक कुमार बस्नेत, चर्चित सञ्चारकर्मी प्रकाश सुवेदी, नेपालका पहिलो ड्रमर देव राना, र संगीत समूह १९७४ एडीका गिटारिस्ट मनोज केसी लगायतका व्यक्तित्वहरू देखिएका छन्।

‘प्रोजेक्ट नजिक’ को सम्पूर्ण इपिसोड एपिवान टेलिभिजनमा प्रसारणपछि गायक बज्राचार्यकै युट्युब च्यानल D Production मार्फत पनि हेर्न सकिनेछ।

🔗 हेर्नुहोस् प्रोमो भिडियो

प्रतिक्रिया दिनुहोस्