वैज्ञानिक कल्पनामा आधारित नेपाली फिल्म ‘एक्लो’को फर्स्टलुक सार्वजनिक, कान्सपछि चासो थपिँदै



काठमाडौं – वैज्ञानिक कल्पनामा आधारित बहुप्रतिक्षित नेपाली चलचित्र ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा फिल्मका सबै प्रमुख पात्रहरूको झलक देखाइएको छ, जसले दर्शकमा थप उत्सुकता बढाएको छ।

फिल्मले यसअघि प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत आफ्नो उपस्थिति जनाइसकेको छ। कान्सपछिको अन्तर्राष्ट्रिय चिनारीसँगै चलचित्रको प्रचारप्रति चासो तीव्र भएको छ।

निर्देशनमा प्रदीप शाही रहेका छन्, जो बेलायतमा बसोबास गर्दै आएका नेपाली फिल्मकर्मी हुन्। यसअघि दुई फिल्म निर्देशन गरिसकेका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुतिमा निर्माण गरिरहेका छन्। हाल फिल्मको पोस्ट-प्रोडक्सन लन्डनमा भैरहेको छ। निर्माण टिमका अनुसार चलचित्र क्रिसमस सिजन पारेर पुष महिनामा प्रदर्शनको तयारीमा छ।

कलाकारहरूको बलियो टिम
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’ तथा बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय रहेको छ। साथै, बेलायती अभिनेता जेमी बेकन पनि फिल्ममा अभिनयरत छन्।

टिम र प्रविधिमा बलियो लगानी
चलचित्रका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।

फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशनमा राजु तामाङ, सेट डिजाइमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा, र प्रोडक्सन डिजाइमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन्।

वैज्ञानिक आधारमा नयाँ मोड
‘एक्लो’ लाई नेपाली फिल्म उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय र विश्वस्तरीय प्रस्तुति दिने एक गम्भीर प्रयासको रूपमा हेरिएको छ। नयाँ प्रविधि, अन्तर्राष्ट्रिय प्रस्तुति र दमदार कलाकार टिमले फिल्मप्रति ठूलो आशा जगाएको छ।

फर्स्टलुक हेर्नुहोस्: YouTube लिंक

प्रतिक्रिया दिनुहोस्