
काठमाडौं। निर्देशक रोशन दासको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘प्रतिवैरम’ को आइटम गीतको छायांकन सम्पन्न भएको छ। मधेशको कथामा आधारित यस चलचित्रको गीत काठमाडौंस्थित चलचित्र विकास कम्पनीको भव्य सेटमा दुई दिन लगाएर खिचिएको हो।

कोरियोग्राफर सुरेन बसेलको कोरियोग्राफीमा तयार उक्त आइटम गीतमा अभिनेत्री प्रियंका कार्की फिचर भएकी छन्। गीतमा संगीत मनिष अधिकारी, शब्द रोशन दास, र स्वर रितिका श्रेष्ठको रहेको छ। छायांकन नितेश घतानले गरेका हुन्।
निर्देशक दासका अनुसार चलचित्रले मधेशको सामाजिक र राजनीतिक यथार्थ, साथै दाजु-बहिनीको भावनात्मक सम्बन्ध उजागर गर्ने प्रयास गर्छ। उनले भने, “मधेशबारे बनाइएका धेरै फिल्महरूमा न त वास्तविक सौन्दर्य देखिन्छ, न त गहिरो समस्या। ‘प्रतिवैरम’ मार्फत त्यो अभाव हटाउने प्रयास गरेका छौं।”
रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको हो। चलचित्रको कथा निर्देशक दास स्वयंले लेखेका हुन् भने पटकथा युवराज भट्टराईले तयार पारेका छन्।
चलचित्रमा सम्राट दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण विक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतको मुख्य भूमिका रहनेछ।
निर्देशक दासका अनुसार चलचित्रको आधा भन्दा बढी छायांकन सम्पन्न भइसकेको छ भने बाँकी छायांकन वर्षा सकिएपछि सुरु गरिनेछ।





