
बैंकक, थाइल्यान्ड – असार २१
थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न ‘दोस्रो ग्लोबल एक्सिलेन्सी अनर, आर्ट म्युजिक एन्ड बिजनेस कन्फ्रेन्स–२०२५’ मा नेपाली कलाकार, पत्रकार र ब्युटिसियनलाई सम्मान गरिएको छ। नेपाली र थाई कलाकार, संस्कृतिविद्हरूको सहभागिता रहेको सम्मेलनमा प्रवासमा रहेका नेपालीहरूबीच भाषा, कला, संस्कृति र सम्बन्ध जोड्ने विषयमा व्यापक छलफल भएको थियो।

कार्यक्रमको संयोजन गायिका तथा सञ्चारकर्मी सरिता भारतीले गरेकी थिइन्। उनले थाई भूमिमा नेपाली गीत-संगीत र संस्कृति जगेर्ना गर्न आयोजित कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै यसअघि मलेसियामा सम्पन्न सम्मेलनपछि यो दोस्रो संस्करण भएको बताइन्।
एनआरएन थाइल्यान्ड र थाई नेपाली संघकी संस्थापक तथा संस्कृतिविद् प्रा. भारती लिम्बुनीले म्यान्मार र थाइल्यान्डमा रहेका नेपाली भाषीहरूको अवस्थाबारे धारणा राख्दै कार्यक्रमले नेपाली समुदायलाई एकजुट गर्ने कार्य गरेको भन्दै प्रशंसा गरिन्।
चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष विजय आवाज सुवेदीले संघले नेपाली कला र संस्कृति प्रवर्द्धनमा खेलेको भूमिकाबारे चर्चा गर्दै जापान र युएईपछि अन्य देशहरूमा शाखा विस्तार गर्ने योजना सार्वजनिक गरे। संघका सचिव नविन गिरीले मिडियामार्फत प्रवासी नेपालीहरूको समस्यामा साथ दिने प्रतिबद्धता जनाए।
नेपालबाट आएका अभिनेता तथा मोडल श्रीदेव भट्टराईले थाइल्यान्डमा नेपाली फिल्म र म्युजिक भिडियो छायांकन सहज हुने धारणा राखे भने थाई कलाकारहरूसँग सहकार्यको चाहना व्यक्त गरे।
मेरो युनिभर्स डान्सकी विजेता खुसी कार्कीले थाइल्यान्डस्थित नेपाली कलाकारहरूको अनुभव प्रस्तुत गर्दै नेपालमा गरेका कामबारे जानकारी दिइन्।
एभरेस्ट किचन थाइल्यान्डका म्यानेजर श्याम राईले नेपाली मौलिक खानाको प्रवर्द्धनबारे अनुभव साझा गरे। पत्रकार तथा गीतकार डब्बु क्षत्रीले म्यान्मारका नेपाली भाषीहरूको आप्रवासन समस्याप्रति चिन्ता व्यक्त गर्दै थाई नेपाली संघ र एनआरएन थाइल्यान्डको योगदानको सराहना गरे।
सम्मानित व्यक्तित्वहरू:
ग्लोबल एक्सिलेन्सी अनर–२०२५ अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो:
- प्रा. भारती लिम्बुनी र कुमार कार्की (थाई नेपाली संघका पूर्वअध्यक्ष) – थाइल्यान्डतर्फबाट
- श्रीदेव भट्टराई (अभिनेता), विजय आवाज सुवेदी (पत्रकार), नविन गिरी (पत्रकार), र हेमन्त शिशिर (गायक) – नेपालबाट
- ब्युटिसियन:
- विना राना मगर (चेली मेकअप स्टुडियो अध्यक्ष)
- अमला शाही ‘अमिसा’ (चेली मेकअप स्टुडियो)
- राजेश्वरी शिल्पकार (एन्जल ब्युटी पार्लर, बरहथवा)
- सुजिता अधिकारी (धादिङ – ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ की फस्ट रनर अप)
- निरन तामाङ (स्पार्क ब्युटी पार्लर अध्यक्ष)
यस्तै, मोडल खुसी कार्कीलाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै नेपाली कला, संस्कृति र पहिचानको जगेर्नामा सशक्त सन्देश दिएको सहभागिहरूको भनाइ थियो।





