‘आयोजना नम्बर १६०’ दमकको कदम थिएटरमा मञ्चन



दमक, असार १३ – झापाको दमकस्थित नियमित रूपमा नाटक मञ्चन गर्दै आइरहेको कदम थिएटरले नयाँ प्रस्तुति स्वरूप ‘आयोजना नम्बर १६०’ नामक नाटक मञ्चन गरिरहेको छ। असार ५ गतेदेखि सुरु भएको नाटक असार १५ गतेसम्म मञ्चन हुनेछ।

कदम थिएटरका कला निर्देशक सिजन दाहालका अनुसार यो नाटक प्रत्येक साँझ ५ः१५ बजेदेखि नियमित रूपमा प्रदर्शन भइरहेको छ। भारतीय नाटककार अजय शुक्लाको चर्चित हिन्दी नाटक ‘ताजमहल का टेन्डर’लाई नेपालीमा रूपान्तरण गरेर नवीन भण्डारीले निर्देशन गरेका छन्।

सरकारी योजनाको अव्यवस्था र कर्मचारीतन्त्रको भ्रष्ट प्रवृत्तिमाथि व्यंग्य प्रस्तुत गर्दै नाटकले सुशासनमाथि गहिरो प्रश्न उठाएको छ। “सरकारले कसरी योजना ल्याउँछ र हचुवामै अलपत्र पार्छ, अनि कर्मचारीहरू कसरी लोभमा फसेर ढुकुटीमा राज गर्छन् भन्ने विषयवस्तु प्रस्तुत गरिएको छ,” निर्देशक दाहालले बताए।

पूणतः कमेडी शैलीमा तयार पारिएको नाटकमा सत्तासञ्चालक र स्थानीय सरकारका प्रतिनिधिस्वरूप देखाइएका पात्रमार्फत व्यावहारिक भ्रष्टाचारमाथि चोट गरिएको छ।

‘आयोजना नम्बर १६०’ मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंग क्षत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभिनय गरेका छन्। यही कलाकार समूहले नाटकको निर्देशन पनि संयुक्त रूपमा गरेका हुन्। प्रकाश संयोजनमा आयुष भण्डारीको योगदान रहेको छ।

प्रतिक्रिया दिनुहोस्