
काठमाडौँ ।
नेपाली फिचर फिल्म ‘नाकछोङ (बिजुवा)’ को फस्टलुक सार्वजनिक गरिएको छ। निर्माण युनिटले एक पोस्टरमार्फत फिल्मको पहिलो झलक सार्वजनिक गर्दै प्रचार अभियान सुरु गरेको हो।
पोस्टरमा मुख्य कलाकार भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा काठमाडौं सहर र बिजुवा (नाकछोङ) को झलक देख्न सकिन्छ, जसले फिल्मको गहिरो विषयवस्तुको संकेत गर्छ।
फिल्ममा भुवन सिंह राईसँगै यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदूङ राई, ससिता राई रसा लिम्बू, मीसन बान्तावा राई तथा बाल कलाकार जेशन राईको अभिनय रहेको छ।
फिल्मको निर्देशन किरण राईले गरेका छन्, जो यसअघि ‘लुङा’ र ‘जिउपंचौ’ निर्देशन गरिसकेका छन्। लेखन पनि किरणकै रहेको यस फिल्मका निर्माता पोपीराज राई हुन्। छायांकन बाबु श्रेष्ठले गरेका छन्।
गीत–संगीत पक्षमा राजन मुकारुङ र विष्णु किरातीका शब्द, दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत तथा नोगेन लिम्बु र परेस राईको स्वर रहेको छ। पार्श्व संगीत मोनिष निरौलाको रहेको छ भने कलर अनिल राना, ध्वनि संयोजन र मिक्सिङ सागर अर्यालले गरेका छन्।
फिल्मका कार्यकारी निर्माता रमु श्रेष्ठ हुन् भने मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन्। पटकथा निर्देशक किरण र निर्माता ज्योतीराजले मिलेर तयार गरेका हुन्। निर्माण नियन्त्रकमा गिरिराज राई र कमल लिम्बु (सार्के) छन्।
निर्माता ज्योतीराजका अनुसार फिल्म परम्परागत संस्कृति र बिजुवाको (नाकछोङको) संरक्षण गर्दै पुस्तान्तरणको उद्देश्यले निर्माण गरिएको हो। बिजुवा (नाकछोङ) लाई चाडपर्व, विवाह, कुलपितृ पूजालगायत विविध परम्परागत संस्कारमा महत्वपूर्ण मानिन्छ।
फिल्मको प्रदर्शन मिति अझै तय गरिएको छैन। यसलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा प्रिमियर गरेपछि सार्वजनिक प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।
निर्माता ज्योतीराज यसअघि ‘लुङ्गा’, ‘संगम’, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’, ‘प्रोडूसर’ लगायत फिल्म र चर्चित टेलिभिजन सिरिजहरू निर्माण गरिसकेका छन्।





