
काठमाडौं, असार ८
एसईई दिएर बसेका विद्यार्थीबीच आयोजित छैटौँ राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता एसईई डान्स च्याम्पियनसिप २०८२ मा काठमाडौं कपनकी शिवानी थापामगर विजेता बनेकी छन्। बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनद्वारा आयोजित उक्त प्रतियोगितामा उनले ट्रफी, मेडलसहित १ लाख रुपैयाँ नगद र कक्षा ११ तथा १२ को पूर्ण छात्रवृत्ति जितेकी हुन्।

शनिबार साँझ काठमाडौंको नाचघरमा सम्पन्न ग्रान्ड फिनालेमा २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएका थिए। तीमध्येबाट उत्कृष्ट प्रदर्शन गर्दै शिवानीले पहिलो स्थान हात पारिन्।
प्रतियोगितामा एग्रिया सिंह दोस्रो स्थानमा रहिन्। उनले ५० हजार रुपैयाँ नगद र प्लस टुको छात्रवृत्ति पाएकी छन्। तेस्रो स्थानमा रहेकी गोविन्द गुरुङ कुसुमले ३० हजार रुपैयाँ र प्लस टुको पूर्ण छात्रवृत्तिसहित ट्रफी र मेडल जितिन्।

प्रतियोगिताको निर्णायक मण्डलमा गम्भिर बिष्ट, प्रिन्स श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन र शान्ति कठायत थिए। उनीहरूले अंकका आधारमा उत्कृष्ट १० प्रतियोगी छनोट गरेका थिए, जसले सबैले प्लस टुको पूर्ण छात्रवृत्ति पाएका छन्। विभिन्न कलेजहरूमध्ये मनासलुले उत्कृष्ट १० मा परेकालाई छात्रवृत्ति दिने घोषणा गरेको हो।
तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कारसहित छात्रवृत्ति पाए भने पब्लिक च्वाइस अवार्ड जितेकी प्रशिका अधिकारीले पनि छात्रवृत्ति, मेडल र ट्रफी प्राप्त गरिन्। ‘बेस्ट स्किल अवार्ड’ विजेता गौतम खड्काले समेत प्लस टुको पूर्ण छात्रवृत्ति पाए।
विजेता शिवानीकी कोरियोग्राफर अविनाश हमाल ‘उत्कृष्ट कोरियोग्राफर’ घोषित भए। प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए। उनले विजेताहरुलाई बधाई दिँदै कला र शिक्षालाई सँगसँगै अघि बढाउनु पर्ने सन्देश पनि दिएका थिए।
कार्यक्रम संयोजक महेश गोदारका अनुसार नृत्यमार्फत विद्यार्थीको आत्मविश्वास र सिर्जनात्मकतालाई प्रोत्साहित गर्न यो प्रतियोगिता आयोजना गरिएको हो। सो अवसरमा नेपाली संगीत तथा नृत्य क्षेत्रमा योगदान पुर्याएका गायक नारायण रायमाझी र नृत्य प्रशिक्षक रामचन्द्र (आरसी) कोइरालालाई सम्मान गरिएको थियो।





