
काठमाडौँ ।
नारी चेतना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शनी शो तथा कर्णाली उत्कृष्ट नारी सम्मान समारोह २०८२ शनिबार सुर्खेतको वीरेन्द्रनगरमा भव्य रूपमा सम्पन्न भयो।

लक्ष्मी चलचित्र मन्दिरमा आयोजित सो विशेष कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, नगर प्रमुख मोहनमाया ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिजया बुढालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
चार सयभन्दा बढी दर्शकको सहभागिता रहेको शो अत्यन्तै भावनात्मक बन्यो। चलचित्रको कथावस्तु र दृश्यहरूले दर्शकहरूलाई यति गहिरोसँग छोयो कि कतिपय खुलेआम रुन थाले।

नगर प्रमुख मोहनमाया ढकालले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति यसरी व्यक्त गरिन्:
“सतीदेवी हेरेपछि मन गह्रौं भयो। महिलाको संघर्ष, समाजको विभेद, किशोरीहरूको भावना—सबै दृश्यहरू हाम्रै जीवनको ऐना बनेर प्रस्तुत भए। चलचित्र सकिएपछि उठ्नै सकिएन, एकछिन मौन भएर बस्न मन लाग्यो।”
ढकालले निर्देशक लक्ष्मण सुवेदीलाई फिल्मको सिक्वेलमा सफल महिलाको प्रेरक कथालाई समेट्न सुझाव दिएकी थिइन्, जसमा सुवेदीले सकारात्मक प्रतिक्रिया जनाए।
निर्देशक सुवेदीले भने:
“म आफै कर्णालीको हुँ। आफ्नै ठाउँमा आफ्नै दर्शकहरूसँग फिल्म हेर्न पाउनु आत्मीयता र गर्वको अनुभव हो। आगामी प्रोजेक्ट पनि यही प्रदेशमा छायांकन गर्ने योजना छ।”
कार्यक्रमको मुख्य आकर्षण ‘कर्णाली नारी सम्मान २०८२’ रह्यो, जसमा विभिन्न क्षेत्रका सशक्त महिलाहरूलाई सम्मान गरिएको थियो।
प्लेयिङ फर चेन्जद्वारा आयोजित यस कार्यक्रममा सम्मानित महिलाहरूको सूची यसप्रकार छ:
- ऊर्जा मन्त्री बिजया बुढा
- नगर प्रमुख मोहनमाया ढकाल
- पत्रकार माया थापा
- राष्ट्रिय खेलाडी सुनमाया बुढा
- पाइलट सिर्जना रावत
- समाजसेवी यमुना सापकोटा
- राउटे अगुवा महिला सत्यदेवी खड्का
- सहकारी अभियन्ता सुनिता खड्का
- पत्रकार तृप्ति शाही
समारोहको सफलता सुनिश्चित गर्न प्लेयिङ फर चेन्जका अध्यक्ष प्रकाश खड्का, सल्लाहकार तथा युवा नेता भुपेन्द्रजंग शाहीलगायतको सक्रिय भूमिका रहेको थियो।
चलचित्र ‘सतीदेवी’ मा मलिका महत को शीर्ष भूमिका रहेको छ भने, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, बाल कलाकार हर्षिका वली र मञ्जिला बानियाँको प्रभावशाली अभिनय पनि फिल्मको विशेषता हो। श्रीदेवी, दिलासा र सारा सुवेदीको संयुक्त निर्माणमा बनेको यस फिल्मले हालसम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ।
दर्शकहरूले चलचित्रलाई देशव्यापी रूपमा पुनः प्रदर्शन गर्न माग गरिरहेका छन्।





