
नेपालगन्ज, असार ५
चौथो नेपालगन्ज फोटो फेस्टिभल आज भव्य रूपमा सम्पन्न भएको छ। अन्तरालको आयोजनामा भएको दुईदिने फेस्टिभलमा नेसनल फोटो कन्टेस्ट नेपाल २०८१ का विजेताहरूलाई सम्मान गरिँदै समापन गरिएको हो।

समापन समारोहमा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगर र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले विजेताहरूलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरे। फोटो पत्रकार अर्यान धिमालद्वारा खिचिएको वर्षकै उत्कृष्ट तस्बिरले नगद रु ५१,१११ सहित प्रमाणपत्र प्राप्त गर्यो। अन्य विधागत उत्कृष्ट तस्बिरहरूलाई जनही रु ५,००० र प्रमाणपत्र प्रदान गरियो।

यस वर्ष पहिलोपटक इसेवासगको सहकार्यमा राखिएको पिपुल च्वाइस अवार्ड तर्फ ६,७७७ भोट प्राप्त गर्दै अमित रावल विजेता बने। उनले रु ५०,००० नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे। विजेता रावलले उक्त रकममध्ये रु १०,००० कोहलपुरका मृगौला पीडित फिरोज बक्सको उपचारमा सहयोग गर्ने र बाँकी रकम वाइल्ड लाइफ फोटोग्राफीमै खर्च गर्ने घोषणा गरे।
समापन कार्यक्रममा बोल्दै माया पुन मगरले फेस्टिभलले नेपालगन्जलाई राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्याएको बताइन्। “फोटोले वास्तविक सन्देश दिन्छ, यस्तो कार्यक्रमले लुम्बिनी प्रदेशलाई थप उजागर गर्छ,” उनले भनिन्। यस्ता कार्यक्रमलाई सधैं समर्थन रहने उनले प्रतिबद्धता जनाइन्।

अन्तरालका कार्यकारी निर्देशक योगेन्द्र शाहले विषम परिस्थितिमा पनि फेस्टिभललाई निरन्तरता दिन सफल भएकोमा सन्तोष व्यक्त गर्दै आगामी संस्करणलाई अझ परिष्कृत बनाइने जानकारी दिए। उनले सहकार्य गर्ने सम्पूर्ण संस्थाहरूलाई विशेष धन्यवादसमेत दिए।
फेस्टिभलअन्तर्गत ९ विधामा छनोट गरिएका १११ उत्कृष्ट तस्बिरहरू होटल सिटी प्यालेसमा प्रदर्शनीका लागि राखिएको थियो। विद्यार्थी, नागरिक समाज, उद्योगी–व्यवसायी तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
नेसनल फोटो कन्टेस्ट नेपालमा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेसन, स्पोर्ट्स, नेपाल स्माइल, एग्रीकल्चर, वाइल्ड लाइफ र न्यूज विधामा करिब २,१०० फोटोहरू सहभागी भएका थिए।
नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको यस फेस्टिभल पर्यटन डिभिजन कार्यालय, कोहलपुरको सहकार्यमा सम्पन्न भएको हो। नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका लगायत विभिन्न संस्थाहरूको सहयोग रहेको थियो।





