
काठमाडौँ, असार ६ — स्वास्थ्य क्षेत्रमा आबद्ध युवतीहरूको सामाजिक सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको औपचारिक सुरुवात भएको जानकारी गराएको हो।

१७ देखि २८ वर्ष उमेर समूहका नर्स वा नर्सिङ अध्ययनरत युवतीहरू प्रतियोगितामा सहभागी हुन योग्य हुनेछन्। आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ।
‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुँदै आएको यो प्रतियोगिता स्वास्थ्य क्षेत्रमा आधारित एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो।
आयोजकका अनुसार प्रतियोगिताका शीर्ष तीन विजेताले नगद रु १ लाख, ५ लाख बराबरका पुरस्कारहरू, साथै ‘मिस वर्ल्ड पिस’, ‘मिस ग्लोबल’ र ‘मिस प्लानेट इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।
देशभरका ४ दर्जन नर्सिङ कलेज तथा १०० भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरूबाट प्रारम्भिक चरणमा उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
छनोट चरणबाट अडिसनमा उत्तीर्ण हुने प्रतियोगीहरूलाई सञ्चार कला, व्यक्तित्व विकास, लिडरसिप, पब्लिक स्पिकिङ, ड्रेस सेन्स, मोटिभेसन र करियर काउन्सिलिङ जस्ता विषयमा प्रशिक्षण दिइनेछ।
आयोजक संस्थाकी प्रबन्ध निर्देशक यतना पाण्डेका अनुसार प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा शान्तिको सन्देश फैलाउँदै नर्सिङ पेसामा संलग्न युवतीहरूलाई समाजप्रति उत्तरदायी र प्रेरित बनाउन केन्द्रित छ।
प्रतियोगितामा आधा दर्जन उपविधामा समेत विजेता छानिनेछन्।







