‘रङ डेस्टिनेशन २’ को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक, किरण र आयशाको रोमान्टिक प्रस्तुति



काठमाडौं ।
सिमा गुरुङ निर्देशित फिल्म ‘रङ डेस्टिनेशन २’ को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक गरिएको छ । समिक्षा अधिकारी र ओम सुनारको स्वर रहेको यस गीतमा संगीत पनि गायक ओम सुनारले नै दिएका छन् भने शब्द मुना शाहको रहेको छ ।

रोमान्टिक भाव बोकेको यो गीतको भिडियो डान्सिङ फेभरमा तयार पारिएको छ, जसमा मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठको आकर्षक नृत्य प्रस्तुत गरिएको छ । कल्चरल ड्रेस र कोरसको प्रयोगसहित तयार पारिएको भिडियोमा कोरियोग्राफी रोशनी थापा मगरले गरेकी छन् ।

फुलमुन मोसन पिक्चर्स प्रा.लि. को ब्यानरमा बनेको फिल्म ‘रङ डेस्टिनेशन २’ हरर र थ्रिलर कथामा आधारित छ । किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्वल, सञ्जय थापा, र सकल रेग्मी फिल्मका मुख्य कलाकार हुन् ।

फिल्मका कार्यकारी निर्माता सुगन तन्दुकर हुन् भने निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । फिल्मको छायांकन मुस्ताङका रमणीय स्थानहरूमा गरिएको हो ।

निर्देशक सिमा गुरुङका अनुसार ‘रङ डेस्टिनेशन २’ पहिले विदेशका विभिन्न फेस्टिभलहरूमा प्रदर्शन गरी त्यसपछि मात्र नेपालमा सार्वजनिक गरिने योजना छ । फिल्ममा सञ्जय थापाको द्वन्द्व निर्देशन, रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्